२९ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले प्रतिनिधिलाई प्रश्न: ईश्वर हारे माधव नेपाल र भीम रावलकै नियति दोहोरिने त होइन?

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको हो। महाधिवेशनले आगामी ५ वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ।

महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमने–सामने हुने देखिएको छ। यद्यपि एमाले नेताहरूले सहमतिबाटै नेतृत्व चुन्ने प्रयास भइरहेको दाबी गरेका छन्। तर, त्यो सम्भावना निकै क्षीण बन्दै गएको छ। दुवै नेताले प्यानल बनाएरै निर्वाचनमा होमिने तयारी गरिरहेका छन्।

ओलीले राष्ट्रिय शक्ति निर्माण र बाहिरदेखि एमालेविरुद्ध भइरहेका हमलाविरुद्ध एकजुटताका लागि आफू फेरि अध्यक्ष हुने बताइरहेका छन्। पोखरेलले भने पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठाउँदै लोकतन्त्र र वैचारिक शुद्धताका लागि आफू अध्यक्षमा उम्मेदवार बनेको बताएका छन्। 

मुलककै अग्रणी, विभिन्न परिवर्तनका आन्दोलनमा भूमिका खेलेको र विघटित प्रतिनिधिसभाको दोस्रो ठुलो दल भएकाले एमालेको आगामी नेतृत्व छनोटका लागि हुने महाधिवेशनमा धेरैको चासो पनि छ।  तर पछिल्लो समय एमालेका नवौँ र १० औँ महाधिवेशन र ती महाधिवेशनपश्चात् पार्टीको जीवनमा देखिएका परिदृश्यहरूले यो महाधिवेशनपछि देखिने दृश्यबारे पनि अनेक अड्कलबाजी र चर्चा परिचर्चा भइरहेका छन्। 

नवौँ महाधिवेशनमा ओलीसँग अध्यक्ष माधवकुमार नेपाल भिडेका थिए। हारेपश्चात् ओलीसँग उनको मिल्ती भएन। २०७४ को एमाले–माओवादी एकता र त्यसपछि विकसित घटनाक्रमसँगै १० औँ महाधिवेशन अगावै एमाले फुटाएर नेपालकै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो। 

चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा ओलीसँग भीम रावल भिडेका थिए। अध्यक्षमा हारेपछि भीम रावल एमालेबाट किनाराकृत हुँदै गए। अन्ततः उनी पार्टीबाट निष्कासित हुन पुगे। अहिले ११ औँ महाधिवेशनसम्म आइपुग्दा ओलीसँग भिडिरहेका पोखरेलको अवस्था ‘जित्ने’ भन्दा ‘हार्ने’ नै बढी रहेको टिप्पणी भइरहेको छ। एमालेको उद्घाटन समारोहदेखि बन्द सत्र सुरु हुन अघिसम्म बसेका केन्द्रीय समिति बैठकमा उनी झन्डै तिरस्कृत भए। ओली पक्षले महाधिवेशन प्रतिनिधि ल्याउँदा तलदेखि नै पेलेरै ल्याएको टिप्पणी भइरहेको छ। 

यस्तोमा पोखरेल हारेको अवस्थामा माधव र भीम जस्तै नियति उनको पनि हुने त होइन? भन्ने प्रश्न नेपाली राजनीतिक वृत्तमा छ। पोखरेल आफैले पटक–पटक यसको खण्डन गर्दै आएका छन् पनि। उनी आफू हारे एमालेमै बस्ने, पार्टी कदापि नफोड्ने प्रतिबद्धता राख्दै आएका छन्।

उता यो प्रश्नलाई मलजल गर्ने गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनहुँ अभिव्यक्ति दिँदै आएका छन्। उनले हरेक मञ्चमा ‘एमालेभित्र ओलीविरुद्ध विद्रोह सुरु भएको र विद्रोही कमरेड आफ्नो सम्पर्कमा रहेको’ बताउँदै आएका छन्। 

यही प्रश्न नागरिकन्युजले एमाले महाधिवेशनमा आएका केही प्रतिनिधिसँग राखेको थियो। जसमा मिश्रित जवाफ आएको छ। प्रतिनिधिका प्रतिक्रियाअनुसार पार्टीमा लोकतान्त्रिक अभ्यास भए पनि एक ढिक्का नै रहनुपर्नेमा जोड छ।

शरणकुमार राई

म्याग्दीका प्रतिनिधि प्रकाश पौडेल जनताको बहुदलीय जनवाद मान्ने पार्टीमा प्रतिस्पर्धा स्वाभाविक भएको बताउँछन्। तर सकेसम्म नेतृत्वमा सर्वसम्मत वातावरण बने धेरै राम्रो हुने उनको प्रतिक्रिया छ। 

‘मुलुक संकटमा रहेका बेला पार्टीलाई एकताबद्ध राख्नुपर्छ नै। सम्भव नै नभए स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्नेमा फरक मत रहेन। प्रतिस्पर्धा हुँदैमा अनुमानकै भरमा विगतमा भएजस्तो यस पटक हुन्छ भन्ने हुन्न,’ उनले भने।

भोजपुरका प्रतिनिधि शरणकुमार राई नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिन्छन्। उनी पोखरेल जिताउने अभियानमै संलग्न छन्। ‘एक व्यक्तिको दम्भको कारण पार्टी भित्रको उत्साह घट्दै गएको छ। त्यसैले अब नयाँ नेतृत्वमा पूर्ण शक्तिशाली बनाउने प्रयासमा छौँ,’ उनले भने, ‘ईश्वर कमरेड हारेकै अवस्थामा पनि पलायन हुने भन्ने कुरै हुन्न। पार्टीमा बसेर गलत प्रवृत्तिको विरोध गर्दै पार्टी सुदृढीकरणमा लाग्छौँ।’ 

स्याङ्जाका प्रतिनिधि सोभियत ढकालले राष्ट्रिय राजनीति र एमालेमाथि भइरहेको प्रहारको उपचार ओली नेतृत्वमै सम्भव बताउँछन्। अनुभव, इतिहास र वर्तमान संकट समाधान गर्ने क्षमता ओलीमा मात्र रहेको बताउँदै उनले प्रतिस्पर्धा नै गर्ने भए लोकतान्त्रिक वातावरणमा गर्न र पार्टीलाई क्षति पुग्ने गरी नगर्न उनले सुझाए। 

सुशीला अधिकारी 

काठमाडौं नागार्जुन नगरपालिकाकी प्रतिनिधि सुशीला अधिकारी पनि ओलीलाई नै जिताएर जानुपर्नेमा मत जाहेर गर्छिन्। त्यो कुरा पोखरेलले पनि बुझ्नुपर्ने उनको तर्क छ। ‘अहिले एमालेमाथि भइरहेको प्रहार एमाले मात्र होइन, राष्ट्रियता, लोकतन्त्र, संविधान र अर्थतन्त्रविरुद्धको योजनाबद्ध प्रहार हो,’ उनले भनिन्, ‘यस्तो बेला एमालेले एकताबद्ध भएर संविधान र व्यवस्था जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने छ। त्यो कुरा ईश्वर कमरेडले पनि बुझ्नुपर्छ।’ 

राजनीतिक विश्लेषक गोविन्दमानसिंह कार्की यस पटक ओली र पोखरेलबिचको प्रतिस्पर्धा विगतमा नेपाल र रावलसँगको जस्तो ओलीका लागि सहज नभएको दाबी गर्छन्। ‘अघिल्ला महाधिवेशनमा ईश्वर पोखरेल समूहले ओलीलाई नै समर्थन गर्थ्यो। अहिले पोखरेल स्वयं प्रतिस्पर्धामा छन्,’ उनी भन्छन्, ‘उनको समर्थनमा पूर्व राष्ट्रपति विद्या भण्डारीसहित पार्टीका प्रभावशाली नेताहरू पनि छन्। त्यसैले अहिलेका ईश्वर पोखरेल पहिलेका माधव र भीम रावलभन्दा फरक र बलिया छन्।’ पोखरेल हारेकै अवस्थामा पनि ओलीले विगतमा भीम रावल, झलनाथ खनाल, माधव नेपालजस्ता नेता जसरी दबाउन नसक्ने उनको दाबी छ। 

‘प्रतिस्पर्धापछि पार्टीभित्र चुनौती जरुर आउन सक्छ,’ कार्की भन्छन्, ‘तर यस पटकका प्रतिस्पर्धी पूर्ण पलायनमा जाने वा चुनिने नेतृत्वले प्रतिस्पर्धी विरुद्ध दमनको नीतिमा जान सक्ने अवस्था नहुन सक्छ।’ 

प्रकाशित: २८ मंसिर २०८२ १९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App