आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दा सभापति रवि लामिछानेको तस्बिर नराखी गर्यो।
यसअघिका सम्पूर्ण कार्यक्रममा सभापति लामिछानेको तस्बिर राख्ने गरेको रास्वपाले अहिले किन राखेन भनेर रास्वपाकै नेताले समेत आपत्ति जनाए। धेरै शुभचिन्तकहरुले यसबारे जिज्ञासा राखे।
रास्वपाका प्राय: हरेक कार्यक्रममा सभापति लामिछानेको तस्बिर अनिवार्य जस्तै देखिने गर्छ। रक्षा बन्धनको दिन रवि लामिछानेको ‘कट आउट’ राखेर समर्थहरूले रक्षा बन्धन मनाएका थिए। तर दुई पार्टीबिचको महत्त्वपूर्ण घोषणा सभामा तस्बिर नदेखिँदा धेरैले यसमा चासो लिए।
सभापतिको तस्बिरलाई रास्वपाले ट्रेड मार्ककै रुपमा राख्ने गरे पनि अहिले नराख्दा पार्टीको गतिविधि माथि नै प्रश्न गर्दै रास्वपा नेता यज्ञमणि न्यौपानेले असन्तुष्टि जनाए। उनले सभापतिको फोटो राखेरै एकता सन्देश दिने मन हुँदाहुँदै पनि किन राखिएन भन्दै प्रश्न पनि गरेका हुन्।
उनले सभापतिसँग माफी माग्दै एकता सन्देशले राम्रो सन्देश प्रवाह गरे पनि फोटो छुट्नु दु:खद भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘माफ पाउँ सभापति ज्यू, हजुरको फोटो राखेर एकताको सन्देश दिने मन हुनेहरूसँग त्यो कार्यक्रमको मोडालिटी कायम गर्ने इजाजत थिएन। जससँग अधिकार र इजाजत थियो उहाँहरूले राख्नुभएन।’
न्यौपानेले अगाडि थपेका छन्, ‘तथापि सभापतिज्यू एकता भयो, राम्रो भयो। अब कुलमान, बालेन, हर्क र गोपी हमालसँग पनि वार्ता संवाद गर्नुपर्छ। राज्य सत्ताले तपाईंलाई जबरजस्ती राखेको थुनाबाट मुक्त गर्नुपर्छ।’
सभापतिको तस्बिर नराखिएको विषयमा भइरहेको चर्चाबारे नागरिक न्युजसँग कुरा गर्दै रास्वपाका प्रवक्ता मनिष झाले यसलाई सामान्य रूपमा लिन आग्रह गरेका छन्।
उनले बाहिर चर्चा भएजस्तो पार्टीभित्र कुनै समस्या नरहेको र तस्बिर नहुनु नितान्त प्राविधिक संयोग मात्र भएको प्रष्ट पारे।
‘राजनीतिमा धेरै भावुक हुनु हुँदैन,’ प्रवक्ता झाले भने, ‘रवि दाइको न पार्टीले विकल्प खोजेको छ, न उहाँको नेतृत्व नै नचाहिने भनेको छ। अहिले पनि हाम्रो नेता उहाँ नै हो, उहाँकै निर्देशनमा हामी अगाडि बढिरहेका छौँ।’
झाले अगाडि भने, ‘म त्यो कार्यक्रममा थिइनँ, तर यो फोटो नराख्ने कुरा इन्टेन्स्नल (नियतवश) होइन, कोइन्सिडेन्ट (संयोग) मात्र हो। कहिलेकाहीँ व्यवस्थापनका क्रममा यस्ता कुरा छुट्न सक्छन्।’
प्रकाशित: १५ मंसिर २०८२ १३:४७ सोमबार





