४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बद्री पाण्डेलाई प्रश्न: आफ्नै उमेर समूहको गगन–विश्वलाई किन नसघाएको?

नेपाली कांग्रेसका युवा नेता बद्री पाण्डेले पार्टी केन्द्रीय कार्यसमितिबाट निर्णय नभएका कारण आफू विशेष महाधिवेशनमा सहभागी नभएको बताएका छन्। नागरिक निर्वाचन विशेष संवादमा कुराकानी गर्दै नेता पाण्डेले केन्द्रीय समितिको निर्णयबिनै भएको कार्यक्रमबाट पार्टी विभाजनसम्म हुनसक्ने देखिएकाले आफू विशेष महाधिवेशन सहभागी नभएको बताएका हुन्। 

संवादमा ‘तपाईँकै उमेर समूहका सभापति गगन थापाले विशेष महाधिवेशनको अजेन्डा उठाउँदा तपाईँले किन साथ नदिएको?’ भन्ने प्रश्न सोधिएको थियो। जसको उत्तरमा उनले भने, ‘केन्द्रीय कार्यसमितिको निर्णयसहित हामी विशेष महाधिवेशनमा गएको भए म पक्षपाती हुन्थेँ। त्यसको पक्षधरता मैले लिन्थेँ। केन्द्रीय समितिबाट निर्णय पनि गराउन सकेनौँ हामीले, त्यसको दोष म भन्दा बढी तत्कालीन दुई जना महामन्त्री(गगन थापा र विश्वप्रकाश शर्मा)हरूले लिनुपर्छ भन्ने ठान्छु।’ 

केन्द्रीय समितिबाट निर्णय गराउन नसक्ने अनि आफ्नै ढंगले विशेष महाधिवेशनको आह्वान गर्ने कुरामा अहिले पनि आफ्नो ठुलो ‘रिजर्भेसन’ रहेको पाण्डेले बताए। ‘किनकि महामन्त्री हाम्रो विधानअनुसार धेरै ठुलो पद हो, ठुलो पद भएकाले केन्द्रीय कार्यसमितिले नचाहँदा–नचाहँदै उहाँहरूको अग्रसरतामा विशेष महाधिवेशन सम्भव भयो,’ उनले भने, ‘त्यसैले विशेष महाधिवेशनमा पुग्नु नै थियो भने उहाँहरूको कोसिस मंसिर १५ मा नियमित महाधिवेशनको कार्य तालिका रोकेर विशेष महाधिवेशनमा लिएर जानुपर्थ्यो। त्यसो हुँदा पार्टीभित्र यत्रो ठुलो खाडल हुने थिएन।’ 

केन्द्रीय कार्यसमितिको बहुमत पनि कसैको तजबिजले नआएको उनले बताए। उनले अगाडि भने, ‘१४ औँ महाधिवेशनको म्यान्डेटले आएको हो। सभापति, उपसभापति, हामी पदाधिकारीले म्यान्डेट पाएका छौँ। कसैको टीका लगाएर आएका होइनौँ। जब महाधिवेशन प्रतिनिधिले कार्यसमिति चुन्छन् त्यसले आफूले पाएको अधिकार प्रयोग गर्न पाउँछ। केन्द्रीय समितिको निर्णय बिनै दुई जना महामन्त्रीले गर्दा विवादको विषय हुन्छ, पार्टी विभाजनको डिलसम्म पुग्छ भनेर त्यसलाई रोकौँ भनेको हुँ।’ 

अन्तिम बिन्दुमा नीति अधिवेशनमा बदल्न सकिन्छ कि भनेर पनि आफूले अनगिन्ती प्रयत्न गरेको उनले सुनाए। ‘त्यो प्रयत्न गर्दागर्दै सफल भएन। पार्टीको परम्परा र मूल्यमान्यताअनुसार म त्यहाँ जान सकिनँ। म जहाँ थिएँ त्यहीँ उचित काम गरेको छु भन्ने लाग्छ,’ पाण्डेले भने। 

प्रकाशित: १० माघ २०८२ १८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App