५ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा सांसदको प्रश्न : दिल्ली पुग्न हवाई भाडा सस्तो, सुदूरपश्चिम पुग्न महँगो किन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक हवाई उडानको चर्को भाडाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व र विपद्का समयमा हवाई भाडा अस्वाभाविक रूपमा बढ्ने गरेको भन्दै नागरिकको बाध्यतालाई नाफा कमाउने माध्यम नबनाउन आग्रह गरिन्।

उनले भनिन्, ‘नेपालको आन्तरिक उडानमा यहाँहरूलाई हार्दिक स्वागत छ। कृपया सिटको पेटी बाँध्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उडिरहेको छ।’

उनले हवाई भाडा सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको बताइन्। ‘विमानमा दुई ढोका अगाडि र दुई पछाडि छन्, तर महँगो भाडाबाट उम्किने आपत्कालीन ढोका छैन,’ उनले भनिन्, ‘आपत्कालमा अक्सिजन मास्क आफैँ झर्छ, तर बाढी, पहिरो र चाडपर्वमा टिकटको भाडा सुन्दा मास्क झर्नुअघि नै चाहिन सक्छ।’

दशैंका बेला भाडा बढ्ने र बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा झन् महँगो हुने अवस्थाप्रति उनले प्रश्न उठाइन्। एयरलाइन्सहरूले यसलाई ‘डिमाण्ड एण्ड सप्लाई’को नियमका रूपमा व्याख्या गरे पनि नागरिकका लागि यो बाध्यताको मूल्य भएको उनको भनाइ थियो।

‘नागरिकको दुःख र बाध्यतालाई देखेर भाडा बढाउने अधिकार एयरलाइन्स कम्पनीहरूलाई कसले दियो ?’ उनले प्रश्न गरिन्।

उनले विपद् र चाडपर्वका बेला आफ्नै देशका दुर्गम क्षेत्र पुग्न कठिन हुने अवस्था रहेको बताइन्। ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो। दिल्लीभन्दा सुदूरपश्चिमलाई नजिक बनाइदिनुस्,’ उनले भनिन्।

सांसद अवस्थीले एयरलाइन्स कम्पनीहरूलाई नागरिकको बाध्यताबाट नाफा नकमाउन आग्रह गर्दै भनिन्, ‘जहाज उडाउनुस्, भाडा होइन। नाफा कमाउनुस्, नागरिकको बाध्यता होइन। सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई भन्दै घर फर्किन पाउने वातावरण बनाइदिनुहोस्।’

प्रकाशित: ५ आश्विन २०८३ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App