राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईलाई सरकारले नै संरक्षण दिइरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राईको ज्यान जोखिममा रहेको र केही समयपछि उनको मृत्युको खबर आउनसक्ने आशंका समेत व्यक्त गरे।
‘केही समयपछि जीबी राईको मृत्यु भयो भनेर पनि सुन्न सकिन्छ। त्यस्तो अवस्था नआउला भन्न सकिँदैन,’ उनले भने।
सांसद पराजुलीले संसदीय छानबिन समितिले ४० वटा सहकारीमा ८७ अर्ब रुपैयाँ हिनामिना भएको तथ्य बाहिर ल्याएको बताउँदै उक्त रकम हिनामिनामा सत्तारुढ दलका नेताहरूको संलग्नता रहेको प्रतिवेदनले नै देखाएको दाबी गरे।
जीबी राईले नै आफूले १६ अर्ब ५० करोडमध्ये ७ अर्ब मात्र तिर्ने र बाँकी रकम अन्य व्यक्तिले तिर्ने बताएको प्रसंग उल्लेख गर्दै पराजुलीले प्रश्न गरे, ‘बाँकी पैसा तिर्ने को हो ? त्यो प्रश्न कसलाई उठ्छ ?’
आफू र आफ्नालाई बचाउन तथा वास्तविक ठगहरूलाई संरक्षण दिन सरकार लागेको उनको आरोप थियो। उनले सरकार सहकारी पीडितको बचत फिर्ता गराउने प्रक्रियामा भन्दा पनि दोषीलाई बचाउन केन्द्रित रहेको बताए।
प्रकाशित: २८ असार २०८२ १७:५५ शनिबार



-600x400.jpg)

