नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण मंगलबार लुम्बिनीमा सम्पन्न गरेको छ।
बौद्ध दर्शन र सांस्कृतिक सम्पदामा केन्द्रित यस महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) श्री मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरे।
कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षु तथा लुम्बिनी विकास कोषका प्रतिनिधिसहितको उल्लेखनीय उपस्थिति रहेको थियो।
महोत्सवमा भारत र नेपालका प्रसिद्ध कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षण बने। भारतबाट आएको ६ सदस्यीय आईसीसीआर समूहले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गर्यो। सांझमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ ले परम्परागत संगीत प्रस्तुत गर्दै वातावरणलाई झनै जीवन्त बनायो।
यसैअवसरमा बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः ए कमन लिगेसी’ शीर्षकको शैक्षिक गोष्ठी पनि आयोजना गरियो। भारत तथा नेपालका ख्यातिप्राप्त बौद्ध विद्वानहरूको सहभागितामा भएको गोष्ठीले दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुदृढ पार्न बौद्ध सम्पदाको भूमिकामाथि गहन विचार–विमर्श गर्यो।
महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक, ऐतिहासिक र धार्मिक बन्धनलाई अझ सबल बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपेको आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: २३ मंसिर २०८२ १०:४७ मंगलबार


-600x400.jpg)


