२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

पुष्पलाल र बीपीको योगदान नेपालको परिवर्तनका लागि प्रेरणादायी : अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेताहरू पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको विचार र संघर्षबाट सिकेर अगाडि बढ्नुपर्ने बताएका छन्। 

पुष्पलालको स्मृति दिवसका अवसरमा बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले परिवर्तनमा उनीहरूको योगदानको स्मरण गरेका हुन्। यसै सन्दर्भमा, उनले बुधबार परेको बीपी स्मृति दिवसलाई समेत स्मरण गर्दै दुवै नेताप्रति सम्मान प्रकट गरेका छन्। जारी भिडियो सन्देशमा अध्यक्ष ओलीले उनीहरूको त्याग र संघर्षले नै राजनीतिक तथा सामाजिक परिवर्तनको आधार तयार पारेको बताएका छन्।

अध्यक्ष ओलीले पुष्पलाललाई नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवका रूपमा स्मरण गर्दै उनी राजनीतिका विश्लेषक र चिन्तक रहेको उल्लेख गरेका छन्। पुष्पलाल सहिद गंगालाल श्रेष्ठका भाइ हुनुको साथै उनीबाट प्रेरणा पाएर जीवनभर राजनीतिक तथा सामाजिक रूपान्तरणको बाटोमा लागेको उनले बताए। पुष्पलालले प्रगतिवादी आन्दोलनलाई जनताको जीवन, मजदूर तथा किसानका अधिकार र उनीहरूका समस्याको समाधानसँग जोडेर अगाडि बढाएको उनको भनाइ छ।

पञ्चायती अधिनायकवाद र निरंकुश राजतन्त्रका विरुद्ध पुष्पलालले जीवनभर संघर्ष गरेको र अधिकांश समय निर्वासनमा बिताएको यथार्थलाई अध्यक्ष ओलीले स्मरण गराएका छन्। लोकतान्त्रिक र प्रगतिवादी शक्तिहरू मिलेर निरंकुशताविरुद्ध लड्नुपर्छ भन्ने पुष्पलालको नीतिलाई पछि २०२६ सालको अन्त्य र २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा एमाले (तत्कालीन माले) ले आत्मसात् गरेको उनले बताए। नेपाली कांग्रेसका तत्कालीन नेता गणेशमान सिंह लगायतसँगको सहकार्यले मुलुकमा संयुक्त जनआन्दोलन सफल भई लोकतन्त्रको पुनर्स्थापना सम्भव भएको ऐतिहासिक तथ्यलाई उनले उजागर गरेका छन्।

वर्तमान राजनीतिक परिस्थितिमा आन्दोलनले केही धक्का खाए पनि अग्रजहरूको दूरदृष्टिले यसलाई फेरि उठाउने प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्। यसका साथै, अध्यक्ष ओलीले राजनीतिज्ञ तथा साहित्यकार बीपीको राजनीतिक संघर्ष र जेल जीवनले पनि मार्गनिर्देशन गर्ने कुरामा जोड दिएका छन्।

प्रकाशित: ७ श्रावण २०८३ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App