२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि पुनको कटाक्ष : यत्तिको विद्वान बहिनी देखेको छैन

फाइल तस्बिर

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले व्यंग्यात्मक जवाफ दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै झाँक्रीको टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन्। उनले लेखेका छन्, ‘एक जना धेरै नै जान्ने सुन्ने धामीज्यूले हिजोदेखि मलाई कन्टेन्ट क्रियटर, इन्फ्लुएन्सियल र युट्युबर भन्ने नयाँ पदकले सम्मान गर्नुभएको कुरा सर्वसाधारण जनतालाई सूचना गर्न चाहन्छु।’

उनले आफूले ३५ वर्षसम्म निःशुल्क सेवा गरेर पाएको ‘कवाडी वैज्ञानिक’ पदकभन्दा झाँक्रीले दिएको उपाधि ठुलो भएको भन्दै व्यंग्य गरेका छन्।

अर्को स्टाटसमा पुनले झाँक्रीको भाषणलाई लिएर पनि व्यंग्य गर्दै ‘यत्तिको जानेको बुझेको विद्वान बहिनी नेपालमा मैले अहिलेसम्म देखेको छैन’ भनेका छन्।

उनले आफूलाई झाँक्रीले राष्ट्रियसभा बैठकमै ‘कन्टेन्ट क्रियटर’ भनेको र आन्दोलन गरेर मन्त्री भएको बताएको उल्लेख गर्दै आविष्कार केन्द्र खोल्नु र वीरगन्ज कृषि औजार चलाउनुका विषयमा भने प्रश्न नगरेको भन्दै व्यंग्य गरे।

मन्त्री पुनले आफूले पनि जेनजी आन्दोलनका बेला पाँचथर र ताप्लेजुङका डाँडामा किताब बेच्दै ‘ठुलो आन्दोलन’ गरेको भन्दै व्यंग्यात्मक शैलीमा झाँक्रीको सरकार आफूले किताब बेचेरै ढालेको भनेका छन्।

प्रकाशित: २६ भाद्र २०८३ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App