१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विदेशी शक्तिसँग मिलेर चीनविरोधी गतिविधि गरेको अभियोगमा वोङलाई थप १० वर्ष जेल सजाय

हङकङका प्रजातन्त्र समर्थक नेता जोशुआ वोङलाई विदेशी शक्तिसँग मिलेर चीन र हङकङविरुद्ध गतिविधि गरेको अभियोगमा थप १० वर्ष जेल सजाय सुनाइएको छ।

हङकङको उच्च अदालतले बिहीबार राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने षड्यन्त्र गरेको अभियोगमा उनलाई उक्त सजाय सुनाएको हो। सन् २०२० देखि जेलमा रहेका ३० वर्षीय वोङको जेल बसाइ अब सन् २०३६ को अन्त्यसम्म लम्बिने भएको छ।

उनी आगामी जनवरी २०२७ मा जेलबाट रिहा हुने अपेक्षा गरिएको थियो। वोङ यसअघि सन् २०२० मा भएको हङकङको अनौपचारिक प्रजातान्त्रिक निर्वाचनसँग सम्बन्धित राज्यसत्ता उल्ट्याउने षड्यन्त्रको अभियोगमा चार वर्ष आठ महिना जेल सजाय भोगिरहेका थिए। विदेशी शक्तिसँग मिलेर चीन र हङकङमाथि दबाब सिर्जना गर्न खोजेको अर्को अभियोगमा दोषी ठहर भएपछि उनलाई थप १० वर्ष जेल सजाय सुनाइएको हो। नयाँ सजायमध्ये दुई महिना दुई दिन मात्र पुरानो सजायसँगै गणना हुनेछ। त्यसैले नयाँ सजायले उनको जेल बसाइ करिब नौ वर्ष १० महिना थप्नेछ।

उच्च अदालतका न्यायाधीश विलियम ट्यामले सजाय सुनाउँदै अपराधको गम्भीरताअनुसार दण्ड दिनुपर्ने बताए। विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने गतिविधि गम्भीर प्रकृतिको अपराध भएको उनको भनाइ थियो।

वोङमाथि विदेशमा रहेका प्रजातन्त्र समर्थक नेता नाथन ल र अन्य व्यक्तिसँग मिलेर चीन तथा हङकङका अधिकारीमाथि प्रतिबन्ध लगाउन विदेशी मुलुक र संस्थालाई आग्रह गरेको अभियोग लागेको थियो। उनीहरूले चीन र हङकङ सरकारविरुद्ध नाकाबन्दी तथा अन्य शत्रुतापूर्ण कदम चाल्न पनि विदेशी शक्तिलाई आग्रह गरेको अभियोजन पक्षको दाबी थियो।

अदालतमा प्रस्तुत विवरणअनुसार सन् २०२० को जुलाईदेखि नोभेम्बरसम्म वोङ र उनका सहयोगीले विदेशी सरकार तथा संस्थासँग मिलेर चीन र हङकङमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। उनीहरूले विदेशमा रहेका सहयोगीमार्फत प्रतिबन्ध लगाउन माग गर्ने तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट त्यस्ता मागलाई समर्थन गर्ने काम गरेको अदालतको ठहर थियो।

वोङले गत सेप्टेम्बरमा आफूविरुद्धको अभियोग स्वीकार गरेका थिए। न्यायाधीश ट्यामले सुरुमा १३ वर्षको जेल सजायलाई आधार मानेका थिए। तर अभियोग स्वीकार गरेको र सजाय घटाउन सकिने अन्य आधारलाई ध्यानमा राख्दै तीन वर्ष घटाएर १० वर्ष कायम गरिएको हो।

वोङ हङकङको प्रजातन्त्र समर्थक आन्दोलनका चर्चित युवा नेतामध्ये एक हुन्। उनी सन् २०१२ मा विद्यालयमा नयाँ शैक्षिक पाठ्यक्रम लागू गर्ने सरकारी योजनाविरुद्ध भएको आन्दोलनमा सहभागी भएपछि चर्चामा आएका थिए। त्यसपछि सन् २०१४ मा भएको अम्ब्रेला आन्दोलनमा पनि उनले प्रमुख भूमिका खेलेका थिए। उक्त आन्दोलनमा हजारौं नागरिकले हङकङमा थप लोकतान्त्रिक अधिकार र स्वतन्त्र निर्वाचनको माग गरेका थिए।

सन् २०१९ मा हङकङमा भएको ठुलो प्रदर्शनले पनि उनलाई थप चर्चित बनाएको थियो। चीनको मुख्यभूमिमा मुद्दा चलाउनका लागि हङकङका नागरिकलाई पठाउन सक्ने कानुन ल्याउने सरकारी योजनाको विरोधमा प्रदर्शन सुरु भएको थियो। उक्त कानुनले हङकङका नागरिकलाई चीनको मुख्यभूमिमा लगेर मुद्दा चलाउन सक्ने भन्दै विरोध भएको थियो। सुरुमा कानुनको विरोधमा भएको प्रदर्शन पछि व्यापक प्रजातन्त्र समर्थक आन्दोलनमा परिणत भएको थियो।

त्यस आन्दोलनका क्रममा वोङले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हङकङमा लोकतान्त्रिक अधिकारको माग उठाएका थिए। उनी आन्दोलनका प्रमुख अनुहारमध्ये एक बनेका थिए। प्रदर्शनसँग सम्बन्धित अनुमति नलिई सभा आयोजना गरेको र मानिसहरूलाई प्रदर्शनमा सहभागी हुन उक्साएको अभियोगमा पनि उनले दोष स्वीकार गरेका थिए। यस्ता मुद्दामा सजाय पाएपछि उनी सन् २०२० देखि जेलमा छन्।

सन् २०२० जुन ३० मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो। उक्त कानुनले चीनबाट अलग हुने प्रयास, राज्यसत्ता उल्ट्याउने गतिविधि, आतंकवादी गतिविधि र विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने कामलाई अपराध मानेको छ। चीन र हङकङ सरकारले यो कानुनले सहरमा शान्ति र सुरक्षा कायम गर्न सहयोग गरेको बताउँदै आएका छन्। तर मानव अधिकारवादी संस्था तथा आलोचकहरूले भने सरकारले आफ्नो विरोध गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन यो कानुन प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन्।

वोङलाई थप १० वर्ष जेल सजाय सुनाइएपछि विभिन्न देश र मानव अधिकारवादी संस्थाले अदालतको निर्णयको आलोचना गरेका छन्। हङकङस्थित अमेरिकी वाणिज्य दूतावासले उनको थप सजायको कडा विरोध गर्दै तत्काल रिहा गर्न माग गरेको छ।

अमेरिकी वाणिज्य दूतावासका प्रवक्ताले भने, ‘डिसेम्बर २०२० देखि वोङलाई अन्यायपूर्ण रूपमा जेलमा राखिएको छ। यसले हङकङमा आधारभूत स्वतन्त्रताको पक्षमा आवाज उठाउनेहरूलाई चुप लगाउन बेइजिङ जुनसुकै हदसम्म जान सक्छ भन्ने देखाउँछ।’

ताइवानले पनि हङकङका प्रजातन्त्र समर्थक कार्यकर्तामाथि भइरहेको राजनीतिक दमनको आलोचना गरेको छ। ताइवानको चीनसम्बन्धी नीति हेर्ने निकायले बेइजिङ र हङकङ सरकारले लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको पक्षमा आवाज उठाउने नागरिकलाई दबाउन सरकारी शक्ति र कानुनको प्रयोग गरिरहेको आरोप लगाएको छ।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले पनि वोङमाथि लगाइएको पछिल्लो अभियोग र सुनाइएको सजायको आलोचना गरेको छ। संस्थाकी एसिया निर्देशक इलेन पियर्सनले भनिन्, ‘जोशुआ वोङविरुद्ध आधारहीन आरोपमा सुनाइएको कठोर सजाय क्रूर र अन्यायपूर्ण छ। सामाजिक परिवर्तनका लागि आवाज उठाउने युवाहरू कुनै पनि जीवन्त समाजका लागि सम्पत्ति हुन्, तर हङकङ सरकारले उनीहरूलाई जेलमा थुन्छ।’

त्यस्तै, एमनेस्टी इन्टरनेसनलले पनि वोङको थप जेल सजायको विरोध गरेको छ। संस्थाले यो घटनाले हङकङको राष्ट्रिय सुरक्षा कानुन सरकारको विरोध गर्ने व्यक्तिलाई सजाय दिन प्रयोग भइरहेको देखाएको बताएको छ।

चीनले हङकङमा शान्ति र सुरक्षा कायम गर्न राष्ट्रिय सुरक्षा कानुन आवश्यक रहेको बताउँदै आएको छ। तर अमेरिका, ताइवान र विभिन्न मानव अधिकारवादी संस्थाले भने उक्त कानुनको प्रयोगबाट नागरिकको स्वतन्त्रता र अधिकार कमजोर भइरहेको भन्दै आलोचना गर्दै आएका छन्। एजेन्सी

प्रकाशित: १९ कार्तिक २०८३ १९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App