नेकपा (एमाले) का सचिव महेश बस्नेतले अहिले देखिएको सरकारप्रतिको जनसमर्थन सामाजिक सञ्जालको ‘अल्गोरिदम’ र ‘पपुलिजम’को प्रभावबाट सिर्जना भएको भन्दै लामो समय नटिक्ने बताएका छन्। कमेडी दरबारमा सहभागी हुँदै उनले सरकारप्रति सुरुवाती चरणमा देखिएको उच्च अपेक्षा अहिले कमजोर बन्दै गएको र त्यसको कारण सरकारले जनताका अपेक्षा पूरा गर्न नसक्नु रहेको बताए।
साथै उनले वर्तमान जनमतलाई ‘सुगर र प्रेसर नियन्त्रण नगरी गरिएको अप्रेसन’ भन्दै यस्तो अवस्थाले देशलाई जोखिमतर्फ धकेल्न सक्ने बताए । भाइरल हुने प्रवृत्ति, पपुलिस्ट राजनीति र सामाजिक सञ्जालको प्रभावका आधारमा सत्तामा पुगेका नेतृत्वले प्रभावकारी रूपमा देश सञ्चालन गर्न नसक्ने दाबी गरे।
‘अल्गोरिदमको रोगबाट ग्रसित मानसिकताले बनेको अपेक्षा धेरै समय टिक्दैन। भाइरल हुने प्रवृत्ति र पपुलिजमको माध्यमबाट अगाडि आएका मानिसहरूले देश हाँक्न सक्दैनन्,’ उनले भने।
बस्नेतले विगतका सरकारका कमजोरी स्वीकार गर्दै ती गल्तीहरुलाई सुधार गर्नुपर्ने आवश्यकता भएको भन्दै स्थापित राजनीतिक प्रणालीलाई अझ परिमार्जित, व्यवस्थित र प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने बताए।
उनले वर्तमान सरकारको राजनीतिक यात्रा पनि लामो नहुने भन्दै राष्ट्रियता सुदृढीकरण, विकास, समृद्धि र जनताको जीवनस्तर उकास्न एमाले नेतृत्वका सरकारले उल्लेखनीय योगदान दिएको दाबी गर्दै वर्तमान सरकारको सय दिनको कार्यसम्पादन विशेष नभएको समेत बताए।
उनले १५ वर्षअघिको नेपाली समाजको अवस्था र वर्तमान सरकारको सय दिनको कार्यसम्पादन तुलना गर्दा एमाले नेतृत्वका सरकारहरूले गरेका कामहरू गौरव गर्नलायक भएका र देश निर्माण र विकासका विभिन्न चरणमा एमालेले महत्वपूर्ण भूमिका खेलेको बताए।
प्रकाशित: १९ असार २०८३ १३:१३ शुक्रबार



-600x400.jpg)

