१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सम्पादकहरूसँग प्रधानमन्त्री: सरकार चुनावप्रति प्रतिबद्ध

प्रधानमन्त्री सुशीला कार्कीले राजदूतहरूले ‘यो सरकार लामो जाँदैन’ भनेर विदेशमा ब्रिफिङ गरेको थाहा पाइएपछि केहीलाई फिर्ता गर्ने निर्णय गरेको बताइन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पादकहरूसँगको अन्तक्रियामा उनले त्यस्तो बताएकी हुन्। ‘केही अनियमिततामा संलग्न भएको र सरकार धेरै टिक्दैन भन्ने राजदूतलाई फिर्ता बताएको बताइन्। ‘कुनै दूतावासले यो सरकार चार दिनको हो, यसको अर्थ छैन भनेपछि फिर्ता गर्ने निर्णय गर्नुपरेको हो,’ उनले भनिन्, ‘कतिपय आर्थिक हिनामिनामा संलग्न रहेको कुरा पनि आएको छ।’

जेनजी आन्दोलनको बलमा गत भदौ २७ मा प्रधानमन्त्री भएपछि सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो। उनले राजनीतिक नियुक्तिभन्दा परराष्ट्र सेवाबाट गएका राजदूतको कार्यक्षमता राम्रो रहेको समेत बताइन्।

‘विदेशी हस्तक्षेप छैन’

प्रधानमन्त्री कार्कीले सरकारमाथि कुनै विदेशी हस्तक्षेप नभएको बताइन्। आफू प्रधानमन्त्री भएर बालुवाटारमा आएपछि कुनै विदेशी राजदूत र प्रतिनिधिले नभेटेको र दबाब नदिएको उनले बताइन्। राहदानीको अभाव देखेका कारण जर्मन राजदूतलाई आफूले भेटेर अनुरोध गरेको बताइन्। अरू सबै राजदूत र विदेशी प्रतिनिधिलाई सिंहदबारमा भेटेको उनले बताइन्।

‘पाइलटलाई मन्त्री बनाउन खोजेको तर सकिनँ’

पर्यटन क्षेत्रमा नेपाल वायुसेवा पनि पर्ने भएकाले धराशयी हुन लागेको संस्थान जोगाउन पाइलटलाई नै मन्त्री बनाउन खोजे पनि त्यो सम्भव नभएको प्रधानमन्त्री कार्कीले बताइन्। वायुसेवालाई बचाउन विशेषज्ञ मन्त्री चाहिने उनले बताइन्।

चुनाव लड्न सुझाव

राजतन्त्र चाहिन्छ भनी आन्दोलनको धम्की दिइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निम्ति निर्वाचन भाग लिएर विजयी भई संविधान परिवर्तन गर्ने राम्रो अवसर रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन्। ‘हामी दुर्गाजीलाई आन्दोलनमा जान दिँदैनौं, वार्तामा ल्याउँछौं,’ उनले भनिन्, ‘हत्याहिंसाका कुरा भए भने अपराध-संहिता आकर्षित हुन्छ।’

सरकार चुनावप्रति प्रतिबद्ध

कार्कीले आफू निर्वाचनप्रति प्रतिबद्ध भएको जानकारी दिँदै त्यही भएका कुनै आयुक्तलाई जिम्मेवारी दिने वा नियुक्ति गर्ने सोच रहेको पनि बताइन्। उनले निर्वाचनका लागि निरन्तर छलफल भइरहेको र स्रोतसाधनको व्यवस्थाका लागि काम गरिहेको उनको भनाइ थियो।

दलहरूसँग संवाद

जेनजी आन्दोलनको रापतापमा दलहरूसँग संवाद गर्ने वातावरण नभएको तर संवादका लागि दलहरूलाई नै पत्राचार गरी आमन्त्रण गरिरहेको जानकारी दिइन्। दलहरूलाई नै बोलाएको हुनाले प्रतिनिधि उनीहरूले नै पठाउने गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाबका लागि भेटेको प्रसंग चर्चामा रहेको हो।

बालेनले आफूलाई पाँच-छ पटक भेटेको र प्रधानमन्त्री भएपछि पनि दुई पटक भेटेको प्रधानमन्त्री कार्कीले बताइन्। प्रधानमन्त्रीसँग बालेनको सम्बन्धबारे राखिएको जिज्ञासामा उनले भनिन्, ‘बालेनलाई म छोरो भनी बोलाउँछु। उसले चाहिँ मलाई दिदी भन्छ।’

गृहमन्त्री ओमप्रकाश अर्यालसँग विरक्त भएर बालेनले राजीनामा मागेकोमा भने उनले ‘होइन’ भनिन्। तर बालेन आफू कुरा गर्ने र अरूको कुरा नसुन्ने प्रवृत्तिको व्यक्ति रहेको भने उनले खुलाइन्। ‘बालेनले बोलेको सुन्नुपर्छ, हामीले बोलेको सुन्दैनन्,’ उनले भनिन्।

प्रधानमन्त्री बन्दिनँ भन्दा...

आफू प्रधानमन्त्री बन्दिनँ भनेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भन्दा थरर्र काम्दै ‘मिडिया बोलाएर तिमीलाई राष्ट्रघाती भयौं भन्दिन्छु’ भनेका थिए। आफू र पति लन्डन जाने टिकट असोज ४ का लागि तय भएको उनले उल्लेख गरिन्। त्यसपछि मात्र आफू प्रधानमन्त्री बनेको उनले बताइन्।

प्रकाशित: १५ कार्तिक २०८२ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App