सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेकी छन्।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर र सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेकोमा बधाई दिइन्।
उनले आयोगले गरेको मेहनतको उच्च प्रशंसा गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएको उल्लेख गरिन्। निर्वाचनका क्रममा अनेक चुनौतीको सामना गर्दै आयोगले दृढतापूर्वक काम गरेको भन्दै उनले नेतृत्व र समग्र टिमको प्रशंसा गरिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन घोषणा भएदेखि आयोगले देखाएको प्रतिबद्धता र मेहनतकै कारण तोकिएको मितिमा निर्वाचन सम्पन्न हुन सकेको बताउँदै यसलाई दिगो लोकतन्त्रका लागि ऐतिहासिक उपलब्धि भएको धारणा व्यक्त गरिन्।
आयोगका तर्फबाट कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको नतिजा प्रतिवेदनको एक प्रति प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: ८ चैत्र २०८२ १९:०२ आइतबार





