नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज घटनालगायत विकसित परिस्थितिमा प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर नेतृत्व लिनुपर्ने बताएका छन्। उनले सरकारले सक्रिय समन्वयकारी भूमिका निर्वाह गर्दै सामाजिक सद्भाव कायम गर्न अग्रसर हुनुपर्ने धारणा राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा बोल्दै थापाले अहिलेको अवस्थामा सबै राजनीतिक दलले साझा रूपमा शान्ति र सद्भाव कायम गर्न भूमिका खेल्नुपर्ने बताए। थापाले भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीको भाउ खाएर बस्ने हो? यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो? यो बेला सबैलाई जोड्ने प्रयास गर्नुपर्छ।’
उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजले लामो समयदेखि निर्माण गरेको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसलाई जोगाउन सबैले धैर्यता, संयमता र संवादको बाटो अपनाउनुपर्ने बताए। ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कसैले दिएको वरदान होइन। यो नेपाली समाजले वर्षौँदेखि साझा प्रयत्नबाट आर्जन गरेको पूँजी हो,’ थापाले भने, ‘यसलाई जोगाउन आवेग र उत्तेजनामा होइन, धैर्यता र संयमताका साथ संवाद गर्नुपर्छ।’
सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउन, राष्ट्रपतिसँग परामर्श गर्न, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताए।
थापाले भने, ‘सरकार केवल बन्दुक, गोली र लाठीमा मात्र देखिनु हुँदैन। सरकार अभिभावक मात्र होइन, नेतृत्व पनि हो। प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिएर साझा प्रयासको वातावरण बनाउनुपर्छ।’
प्रकाशित: १३ श्रावण २०८३ ०९:३९ बुधबार



-600x400.jpg)

