प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे जहाँ पुग्दा पनि बेझिँझक कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमालेको विधान महाधिवेशनको शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो कुरा गरेका हुन्।
‘लिपुलेकको सन्दर्भमा हामीले जहाँ पुग्दा खेरी पनि, जहिले पनि, जुनसुकै ठाउँमा पनि आफ्नो राष्ट्रिय हितलाई कुनै कम्प्रोमाइज नगरीकन उठाउनुपर्ने ठाउँमा उठाउँछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘दृष्टिकोण राख्नुपर्ने ठाउँमा राख्छौँ, बेझिझक राख्छौँ, राष्ट्रिय हितको पक्षमा बोल्छौँ।’
यस क्रममा चीन भ्रमणमा पनि कुरा राखेको उनले बताए। उनले भने, ‘यसपटक म चीन जाँदा पनि चीनका महामहिम राष्ट्रपति सी जिनफिङसँग द्विपक्षीय औपचारिक वार्तामा मैले अरु कुराहरु समेत लिपुलेकका सम्बन्धमा भारत र चीनबिच भएको सम्झौता हाम्रो भूमिमाथि हाम्रो भूमिबाट दुइटा देशले व्यापार आदानप्रदान गर्ने भन्ने सम्झौता गर्न मिल्दैन, हाम्रो असहमति स्पष्ट ढंगले राखेको छु।’
यो कुरा प्रस्ट रेकर्डमा रहेको पनि प्रधानमन्त्री ओलीले बताए। ‘यो कुरा रेकर्डेड छ। यो अडिओमा छ, भिडिओमा छ, यो नोटहरूमा छ, टिपोटहरूमा छ,’ उनले भने।
चिनियाँ राष्ट्रपति जिनफिङले जवाफ दिँदा ‘हामी नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्छौँ’ भनेर प्रतिबद्धता जनाएको पनि उनले बताए। ‘यसबाट तपाईँहरूलाई जुन आशङ्का रहेको छ, त्यसमा हाम्रो ध्यान छ, नेपालको सार्वभौमसत्ता तलमाथि पर्न दिइने छैन, सम्पूर्ण रुपमा समर्थन गर्दर्छौँ। यो विषय तपाईँहरू नेपाल र भारतबिचको सीमाको विषय हो, तपाईँहरू वार्ताद्वारा कूटनीतिक माध्यमबाट समाधान गर्नुहुन्छ भन्ने विश्वास गर्दछौँ। त्यसो गर्नुस् भन्ने धारणा छ,’ चिनियाँ राष्ट्रपतिको भनाई उधृत गर्दै प्रधानमन्त्री ओलीले भने।
त्यसबारे भारतसँग पनि कुरा गर्ने प्रधानमन्त्री ओलीले बताए। ‘यस सम्बन्धी मुख्य कुरा गर्नुपर्ने त भारतसँगै हो, संवादको माध्यमबाटै हो,’ उनले भने। यस विषयमा नेपाललाई तेस्रो देशलाई बिचमा ल्याउन नखोजेको पनि उनले बताए। उनले भने, ‘हाम्रो भूमिमा दुई देशले सम्झौता गरिसकेपछि चीन पनि तेस्रो देश रहेन। हस्ताक्षर गर्नेसँगै कुरा गरेको हो। यसमा केही तल माथि भयो नठान्नुहोला।’
प्रकाशित: २० भाद्र २०८२ १३:४५ शुक्रबार





