२ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : आम नागरिकलाई अनुभूत हुने गरी काम गर्नू (पूर्णपाठ)

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई आम नागरिकहरूलाई अनुभूत हुने गरी काम गर्न निर्देशन दिएका छन्।

सोमबार नेपाल प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा र इमानदारीपूर्वक आफ्नो कर्तव्य पालना गर्न निर्देशन दिएका हुन्।

उनले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढङ्गको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा बताए।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

यस प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उपस्थित विशिष्ट अतिथिज्यूहरू,

अन्य अतिथिज्यूहरू,

अभिभावक तथा परिवारजन,

आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरू,

र, सञ्चारकर्मी मित्रहरू लगायत सम्पूर्णमा नमस्कार।

यस समारोहमा सहभागी प्रहरी निरीक्षकहरु, जो १६ महिने आधारभूत तालिम पूरा गरेर आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ। यसका लागि यहाँहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना। आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनप्रति विशेष आभार।

दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरुले यस तालिममा प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान र सीप पूर्णरुपमा हासिल गर्नुभयो भन्ने विश्वास छ। अब यसलाई व्यवहारमा उतार्न यहाँहरु पूर्ण रूपमा सक्षम हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु।

कुनैपनि पेशागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो। यो सँगै, पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डहरुको सही रुपमा पालना गर्नुरगराउनुले पनि व्यक्तिलाई पेशागत सफलता हासिल गर्न मद्दत पुग्छ। जिम्मेवारीप्रतिको जवाफदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरु लागु हुन्छन्।

सधैं अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनैपनि संकट आउँदा नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकाले यो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनैपनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नराखी, आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलता पूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास छ। र, आम नागरिकहरूलाई अनुभूत हुने गरि काम गर्न यहाँहरुलाई आग्रहसमेत गर्दछु।

आज दीक्षित हुनुभएका प्रहरी निरीक्षक साथीहरु, यहाँहरुको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ। मलाई विश्वास छ ( यहाँहरु कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन। आफ्नो संगठनको प्रोटोकल विपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुनेछैन।

सूचना प्रविधिले यहाँहरुको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग गर्छ। समयको बदलाबसँगै अपराधका स्वरुप र प्रवृत्तिहरु पनि बदलिएका छन्। अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक, र प्रमाणमूखि अनुसन्धानका लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरुरी छ। यसमा समग्र प्रहरी संगठन, नेतृत्व, प्रशिक्षक लगायतको पनि महत्वपूर्ण भूमिका रहन्छ। सरकार यस प्रकारको अनुसन्धानको लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन र यहाँहरुप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सधै प्रतिबद्ध छ।

अन्तमा, आज दीक्षित हुनुभएका प्रहरी अधिकृतहरुलाई कार्यसफलताको शुभकामना छ। अभिभावकज्यूहरुप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु। समारोह आयोजक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद।

प्रकाशित: २६ आश्विन २०८३ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App