२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो।

शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। प्रसारण लाइन अवरुद्ध हुँदा राष्ट्रिय प्रणालीमा जोडिन नसकेको निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् पुनः राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुन थालेको छ।

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुगेको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो।

प्रसारण लाइन अवरुद्ध भएपछि म्याग्दीको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका पाँच जलविद्युत् आयोजनाको विद्युत् प्रवाह रोकिएको थियो। अस्थायी रूपमा प्रसारण लाइन सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् पुनः राष्ट्रिय प्रणालीमा जोडिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्राधिकरणका कर्मचारीको अहोरात्रको प्रयास र निजी क्षेत्रका जलविद्युत् आयोजनासँगको सहकार्यमा ईआरएस टावर प्रयोग गरी प्रसारण लाइन सञ्चालनमा ल्याउन सफलता मिलेको बताए।

भौगोलिक रूपमा अत्यन्त जटिल र दुर्गम स्थानमा ईआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उनले बताए।

प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार ईआरएस टावरमार्फत प्रसारण लाइन सञ्चालनमा ल्याइएपछि बाढीले क्षति पुर्‍याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ। स्थायी टावर निर्माण सम्पन्न भएपछि दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउनेछ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु हुने यो प्रसारण लाइन पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्छ। करिब १३० किलोमिटर लामो यस प्रसारण लाइनले १ हजार २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्छ।

प्रकाशित: १ कार्तिक २०८३ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App