२ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जहाज डुब्दा समुद्रमा तैरिए आईफोन र पर्फ्युमका बक्स, सामान बटुल्न पुगे माझी !

होर्मुज जलमार्गमा कार्गो जहाज डुबेपछि समुद्रमा आईफोन, महँगा पर्फ्युम र अन्य सामानका बक्स तैरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएका छन्।

ती सामान बटुल्न स्थानीय माझीहरू डुंगा लिएर घटनास्थलतर्फ गएको भिडियोमा देखाइएको छ।

सिंगापुरको झण्डा बोकेको कार्गो जहाज ‘जीएफएस प्राइड’ अक्टोबर १४ मा क्षतिग्रस्त भएर आगलागी भएपछि डुबेको थियो। सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जहाजमा रहेका सबै २१ जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको थियो।

केही समुद्री सुरक्षा स्रोतहरूले जहाजमा अज्ञात वस्तु प्रहार भएको बताएका छन्। तर, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेनाले जहाज अनुमति नलिई जोखिमपूर्ण मार्गमा प्रवेश गर्दा समुद्री बारुदी सुरुङमा ठोक्किएको दाबी गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पानीमा तैरिएका बक्स र सामान बटुल्न साना डुंगामा आएका मानिसहरू देख्न सकिन्छ। केही रिपोर्टमा ती सामान आईफोन र महँगा पर्फ्युम भएको दाबी गरिएको छ। ती फोन एप्पलको आईफोन १८ मोडेल भएको दाबीसमेत गरिएको छ।

यद्यपि, जहाज डुबेको घटना वास्तविक भए पनि सामान बटुलिरहेको दृश्य देखाउने भाइरल भिडियोहरूबारे शंका उत्पन्न भएको छ। अनुसन्धानले केही भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी बनाइएको पाइएको छ। जानकारी अनुसार जहाजमा दुई हजार ५०० भन्दा बढी कन्टेनर थिए।

होर्मुज जलमार्गमा व्यावसायिक जहाजमाथि आक्रमण बढिरहेका बेला यो घटना भएको हो। फारसी खाडीलाई ओमानको खाडीसँग जोड्ने यो जलमार्ग विश्वव्यापी तेल तथा तरल प्राकृतिक ग्यास ढुवानीका लागि महत्त्वपूर्ण मानिन्छ।

इरानले अमेरिकी सेना यस क्षेत्रबाट हटेमा होर्मुज जलमार्ग खुल्ने बताएको छ। इरानी सैन्य प्रवक्ता मोहम्मद अक्रामिनियाले अमेरिकी सेना नहटे बल प्रयोग गरेर हटाउने चेतावनी दिएका छन्। एजेन्सी

प्रकाशित: १ कार्तिक २०८३ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App