५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको टिप्पणी: रास्वपा भवितव्यले खुल्याे, संसद् आएजस्तो गर्छन् भत्ता पड्काउँछन्

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई लक्षित ‘नयाँ भनिएका दल’ले देशमा अराजकता मच्चाउन भ्रम छरिरहेको बताएका छन्। शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘केही तत्त्व देशमा अराजकता फैलाउन, मच्चाउन, कुदिराख्या छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराख्या छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ त भर्खर खोलेका पार्टी भवितव्यले खुलेका पार्टी, नयाँ त हुने नै भए। जसको कुनै योगदान छैन।’ जसको आफ्नो योगदान हुन्न उसलाई देशको र व्यवस्थाको माया पनि नहुने उनले बताए। 

‘हामीले संघर्ष गरेका छौँ, त्याग गरेका छौँ, बलिदान गरेका छौँ आजको स्थितिमा पुग्नका लागि। सहिदहरू बनेका छन्। अंगभंग बनेका छन् मान्छेहरू। धेरैले शहादत प्राप्त गरेका छन्,’ उनले भने। 

संघर्षका दिनमा कोही भूमिगत भएको, कोही जेलनेल व्यहोरेको र लामो संघर्षबाट अहिलेको लोकतन्त्र आएको प्रधानमन्त्री ओलीले बताए। ‘ठुलो क्षतिबाट डेमाक्रेसी ल्याइएको हो, अन्धकार युगबाट देशलाई आजको दिनमा ल्याइएको हो। त्यस कारण जसले संघर्ष गरेर आए उसलाई माया छ, जोगाउन चाहन्छन्,’ प्रधानमन्त्री ओलीले भने। जसले संघर्ष गरेको होइन, जसले यो दिन आउन दिन खोजेका थिएनन् उनीहरूले लोकतन्त्र भत्काउन चाहेको पनि उनले बताए। उनले भने, ‘उनीहरू देशलाई बरबादी बनाउन चाहन्छन्। ती संसद्मा आएझैँ गर्छन्, हाजिर गर्छन्, भत्ता पड्काउँछन्, अनि बाहिर जान्छन्।’ 

उनीहरूलाई यो व्यवस्था अत्यन्तै अप्रिय लागेको प्रधानमन्त्री ओलीले बताए। ‘तर हामी भन्छौँ–यो व्यवस्था कायम रहन्छ, कायम राखिनेछ यो अझैँ सुदृढ भएर अगाडि बढ्ने छ। यो नेपाली जनताले बलिदान दिएर, लडेर ल्याएको व्यवस्था हो,’ उनले भने। 

प्रकाशित: ३० श्रावण २०८२ १६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App