प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूले जति सम्मान र माया पार्टीका अरू कुनै नेताले नगरेको बताएका छन्। तर, उनले भण्डारी अहिले पार्टी र नेतृत्वको विपक्षमा उभिएको देख्दा आफू आश्चर्यमा परेको समेत टिप्पणी गरे।
बुधबार काठमाडौंका महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक भेटघाटमा अध्यक्ष ओलीले व्यक्त गरेको भनाइबारे केही सञ्चारमाध्यममा गलत समाचार आएको भन्दै प्रधानमन्त्रीको सचिवालयले बिहीबार एक विज्ञप्ति नै जारी गर्दै प्रधानमन्त्रीको आधिकारिक धारणा सार्वजनिक गरेको हो।
विज्ञप्तिमा अध्यक्ष ओलीको भनाइलाई उद्धृत गर्दै भनिएको छ, ‘पूर्वराष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको छु।’
सचिवालयका अनुसार, अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन आफूले व्यक्तिगत रूपमा समेत आग्रह गरेको बताएका थिए।
‘म सँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ,’ ओलीको भनाइ थियो, ‘तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ।’
विज्ञप्तिमा अध्यक्ष ओलीले, भण्डारीले पार्टी अध्यक्षमा चुनाव लडेमा हार्ने र त्यसपछि पार्टीले उनीमाथि भीम रावललाई जस्तै कारबाही गर्नुपर्ने अवस्था आउनसक्ने बताएको कुरा समेत उल्लेख छ।
‘उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ। हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ,’ ओलीको भनाइ थियो, ‘त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ।’
अध्यक्ष ओलीले भण्डारीका निकटस्थहरूलाई उनलाई गलत बाटोमा जान उल्काउनुको सट्टा सम्झाउन आग्रहसमेत गरेको सचिवालयको विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित: १२ भाद्र २०८२ ११:४२ बिहीबार





