नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले हालै सम्पन्न प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितको दृष्टिले अत्यन्त महत्वपूर्ण भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. भट्टराईले प्रधानमन्त्रीले चीनको भूमिमा स्पष्ट रूपमा लिपुलेकसम्बन्धी नेपालको अडान राख्नु ऐतिहासिक र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने साहसी कदम भएको बताए ।
प्रधानमन्त्री शाङ्घाई सहयोग संगठनको बैठकमा सहभागी हुन चीनमा रहँदा चिनियाँ राष्ट्रपतिको उपस्थितिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा विषयमा नेपालको दृष्टिकोण कूटनीतिक रूपमा स्पष्ट रूपमा राखिएको बताए ।
प्रधानमन्त्रीले हालै चीनको विदेशमन्त्रीको भारत भ्रमणमा भारत–चीनबीच भएको १० बुँदे सहमतिमा उल्लेखित व्यापारिक मार्गको पुनः सञ्चालन सम्बन्धी विषयप्रति गम्भीर आपत्ति जनाएको उल्लेख गर्दै भट्टराईले लिपुलेकको नाम खुला रूपमा नआए पनि आठौं बुँदाको सन्दर्भ स्पष्ट रूपमा त्यही क्षेत्रसँग सम्बन्धित रहेको बताए ।
उनले भने, ‘यदि हामीले सुघौली सन्धिलाई मान्दैनौं भने, नेपालको सिमाना अहिलेको सीमामा मात्र सीमित रहँदैन—पश्चिममा काँगडासम्म र पूर्वमा टिस्टासम्म दाबी गर्न सकिने ऐतिहासिक प्रमाणहरू छन् ।’
नेपालले विगतमा ऐतिहासिक रूपमा सन्धिको स्वीकारोक्ति गरिसकेको र त्यसका आधारमा नै सीमा व्यवस्थापन हुँदै आएको पनि स्मरण गराएका छन् । सन्धि स्वीकारेपछि २०२६ सालमा १७ वटा भारतीय चेकपोस्ट हटाइएको तर लिपुलेकस्थित चेकपोस्ट भने नहटाइएकाले वर्तमान सन्दर्भमा गम्भीर कूटनीतिक महत्त्व रहेको बताए ।
प्रकाशित: १६ भाद्र २०८२ १६:५६ सोमबार





