प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा रहेको नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकिता गरेकी छन्।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने स्पष्ट पारिन्।
‘उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ। यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ?’ उनले भनिन्।
‘सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ,’ उनले भनिन्, ‘कुनै प्रक्रियागत बहाना नगरौँ। यो जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिनुहुँदैन।’
प्रधानमन्त्री कार्कीले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गर्दै भनिन्, ‘मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन। गलत काम गर्दा मात्र डराउनुहोस्।’
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेती लगायतको उपस्थिति थियो।
प्रकाशित: २७ कार्तिक २०८२ १९:५६ बिहीबार


-600x400.jpg)


