तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र निर्यात प्रवर्द्धनलाई गति दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत काउन्सिल गठन गरी स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको उत्पादन, निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए।
छलफलका क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगहरू पुनः सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
साथै, तयारी पोसाक उद्योगले भोगिरहेका समस्या समाधानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रधानमन्त्रीले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) भित्र्याउन आवश्यक पहल गर्ने तथा अमेरिकामा ‘टेस्टिङ सर्टिफिकेसन’ अभावका कारण रोकिएको तयारी पोसाकलगायतका वस्तुको निर्यात सहज बनाउन परराष्ट्र मन्त्रालयलाई आवश्यक समन्वय गर्न निर्देशन दिएका छन्।
‘फार्म टु फाइबर, फाइबर टु फेब्रिक, फेब्रिक टु फेसन र फेसन टु एक्सपोर्ट’ अवधारणालाई कार्यान्वयन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनमा पनि सरकारले जोड दिने प्रधानमन्त्रीको भनाइ थियो।
छलफलमा उद्योगीहरूले सरकारको नीति तथा कार्यक्रममा समेटिएको ग्रिन गार्मेन्ट भिलेज योजनाका लागि बजेट विनियोजन नभएको गुनासो गरेपछि प्रधानमन्त्री शाहले उपयुक्त स्थान पहिचान गर्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन्।
प्रधानमन्त्रीले नेपाललाई विकासशील मुलुकको लक्ष्यमा पुर्याउन तयारी पोसाक उद्योगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस क्षेत्रका सबैखाले समस्या समाधान र आवश्यक कच्चा पदार्थसमेत स्वदेशमै उत्पादन गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित: ५ श्रावण २०८३ १५:११ मंगलबार





