प्रधानमन्त्री सुशिला कार्कीले बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सिर्जना गर्न ठोस कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी छन्।
वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कार्कीले उक्त निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूको पुँजी, सीप र अनुभवलाई मुलुकको उत्पादन, पर्यटन, कृषि र प्रविधिको क्षेत्रमा उपयोग गर्न आवश्यक नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिइन्।
‘वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न सीपमा आधारित उद्यम र पुनःएकीकरणका कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्दछ,’ उनले भनिन्, ‘यसतर्फ मन्त्रालयलाई ठोस कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन गर्दछु।’
बोर्डले विगत १८ वर्षमा श्रमिकको हकहित र कल्याणका लागि उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरिन्। उनले सीप विकास तालिम, कानुनी सहायता, श्रमाधान कल सेन्टर, टेलिमेडिसिन सेवा र डिजिटल सुशासनतर्फ चालिएका कदमहरूलाई प्रशंसनीय भन्दै सराहना गरिन्।
यद्यपि, बोर्डको वार्षिक प्रगति सन्तोषजनक रहे पनि बेरुजु व्यवस्थापनतर्फ विशेष ध्यान दिन उनले निर्देशन दिइन्। ‘बेरुजु व्यवस्थापनतर्फ ध्यान दिई आर्थिक कार्यप्रणाली थप प्रभावकारी बनाउन निर्देशन समेत गर्दछु,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।
साथै, उनले श्रम आप्रवासनका चरणहरूमा हुने ठगी र शोषण नियन्त्रण गर्न, आकर्षक तथा सुरक्षित रोजगार गन्तव्यको खोजी गर्न र वैदेशिक रोजगारलाई क्रमशः निःशुल्क बनाउने दिशामा नीतिगत पहलकदमी लिन पनि निर्देशन दिएकी छन्।
प्रकाशित: १८ कार्तिक २०८२ १६:५१ मंगलबार





