प्रधानमन्त्री सुशीला कार्कीले पहुँचका आधारमा भएको भर्तीका कर्मचारी हटाउन नेपाल वायु सेवा निगमका अधिकारीलाई निर्देशन दिएकी छन् ।
उनले सिंहदरबारमा छलफलका लागि बोलाएर पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी हुन् ।
पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीसँग छलफल गरेकी थिइन ।
कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले कडा निर्देश दिइन ।
यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिएकी छन् । निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन्।
छलफलका क्रममा निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए ।
प्रकाशित: १६ कार्तिक २०८२ १७:०५ आइतबार





