रसुवाको भोटेकोशी बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार दिउँसो काठमाडौं फर्किएका छन्।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित बिहीबार बिहान ९:३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीहरूको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय स्वास्थ्य संस्थामा पुगेर घाइतेहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए।
काठमाडौं फर्कनुअघि प्रधानमन्त्री शाहले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिसँग प्रभावित क्षेत्रमै समीक्षा बैठक गरेका थिए।
बैठकमा उनले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा क्षतिग्रस्त पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिए।
बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याउनासाथ विपद् व्यवस्थापनको कमाण्ड सम्हालेका प्रधानमन्त्री शाह आफैं स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका थिए।
फिल्ड निरीक्षण र आवश्यक निर्देशनपछि प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार नै राजधानी फर्किएको हो।
प्रकाशित: ११ भाद्र २०८३ १६:०९ बिहीबार





