२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

पर्वतारोही निर्मल पुर्जाको योगदानले पुस्ताौंसम्म प्रेरणा दिइरहने सभापति थापाको विश्वास

नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा भएको पर्वतारोहीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

पाकिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार विदेशी आरोहीको निधन भएको हो।

सभापति थापाले सामाजिक सञ्जालमार्फत पुर्जासँगको तस्बिर राख्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ब्रोड पिकको खबरले म स्तब्ध छु। निम्स, प्रोजेक्ट पसिबल सुरु हुनुअघि र संसारले तिम्रो नाम चिन्नुअघि नै मैले तिमीलाई भेटेको थिएँ, हिमालमा जे सम्भव छ भनी मानिसहरूले सोच्थे, तिमीले त्यो सोच नै बदलिदियौ। सधैँझैँ यसपटक पनि तिमी कुनै न कुनै तरिकाले फर्केर आउनेछौ भन्ने मलाई पूर्ण विश्वास थियो।’

उनले रेकर्डभन्दा पनि नेपाली पर्वतारोहीप्रतिको विश्वको दृष्टिकोण बदल्नु नै पुर्जाको सबैभन्दा ठूलो योगदान भएको बताएका छन्। उनले भनेका छन्, ‘तिमीले यो प्रमाणित गरिदियौ कि नेपालीहरू केवल हिमाल आरोहणका सहयोगी मात्र होइनन्, बल्कि उनीहरू नेता, अग्रगामी र पर्वतारोहीहरूको भविष्य पुनर्परिभाषित गर्न सक्ने नवप्रवर्तक हुन्। तिम्रो यो योगदानले पुस्ताौंसम्म प्रेरणा दिइरहनेछ।’

साथै, उनले घटनामा ज्यान गुमाएका पुरबहादुर ‘युक्त’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्लोरी गेस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि स्मरण गरेका छन्। 

उनले भनेका छन्, ‘प्रत्येक नाम पछाडि साहस, बलिदान, सपना र घरमा प्रतीक्षा गरिरहेका आफन्तहरूको जीवन जोडिएको हुन्छ। सबै परिवारजन, साथीहरू र सम्पूर्ण पर्वतारोही समुदायप्रति मेरो गहिरो समवेदना छ। सबैको आत्माले शान्ति पाओस्, तपाईंहरू सधैँ स्मरणीय रहनुहुनेछ।’

प्रकाशित: १६ श्रावण २०८३ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App