नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिनाभित्र प्रतिनिधि सभाको अर्काे निर्वाचन गराउनु रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा शुक्रबार नियुक्त गरेका हुन्।
साथै नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ।
कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गरेकी छन्।
राज्यको उच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएकी प्रधानमन्त्री कार्कीले विकसित संक्रमणकाललाई निर्वाचन मार्फत पार लगाउने गहन दायित्व प्राप्त गरेकी छन्। यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रूपमा कार्कीले जिम्मेवारी सम्हालेकी हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका छन्। राष्ट्रपतिले भने, 'धेरै धेरै बधाई छ। धेरै धेरै शुभकामना। तपाईं सफल हुनुहोस्। देश सफल होस्।'
प्रकाशित: २८ भाद्र २०८२ ०६:३८ शनिबार





