राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संघीय संसद् निर्वाचनमा विदेशस्थित गैरआवासीय नेपालीहरूले सक्रिय सहयोग गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग बुधबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले विदेशमा बस्ने नेपालीहरू देशको समृद्धि र विकासका यात्रामा जोडिनुपर्ने आवश्यकता रहेको बताए ।
भेटका क्रममा राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूले उठाउँदै आएका एनआरएन नागरिकता, मताधिकार तथा लगानीसम्बन्धी विषयमा सरकार तहमा थप छलफल र पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले एनआरएनएका प्रमुख मुद्दाहरू राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो। भेटमा अध्यक्ष डा. केसीले लागू भएको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रियामा देखिएका जटिलता र अध्यादेशमार्फत उत्पन्न भएका अल्झनहरू समाधान गर्न आग्रह गरे ।
त्यसैगरी, अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थाभित्रको विवाद अन्त्य भई अब संघ नेपालको समृद्धिका लागि केन्द्रित हुन लागेको जानकारी दिए । उनले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरूलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग राखे ।
भेटमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशको राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गरे।
प्रकाशित: १७ मंसिर २०८२ १७:२९ बुधबार





