राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्न आह्वान गरेका छन्।
सिंहदरबारस्थित संसद भवनमा शुक्रबार आयोजित संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनपछि जनतामा उत्तरदायी र पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह, सामाजिक न्याय तथा तीव्र आर्थिक विकासको अपेक्षा बढेको उल्लेख गरे।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान दिने राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी र मतदाताप्रति धन्यवाद व्यक्त गर्दै उनले नयाँ सरकारलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे। साथै, अन्तरिम सरकारले निर्वाचन सम्पन्न गर्दै सुशासन प्रवर्द्धन र सेवा प्रवाह सुधारमा खेलेको भूमिकाको प्रशंसा पनि गरे।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा युवाको उल्लेखनीय सहभागिताले नयाँ आशा जगाएको बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको मुख्य जिम्मेवारी भएको स्पष्ट पारे। शिक्षालाई बजारको मागअनुसार रूपान्तरण गर्न र श्रमको सम्मान गर्ने संस्कृति विकास गर्नुपर्नेमा उनले जोड दिए। युवामा देखिएको निराशा अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
उनले भ्रष्टाचार नियन्त्रण गर्दै नागरिकले घरदैलोमै सरकारको अनुभूति गर्ने गरी सेवा प्रवाह सुधार गर्नुपर्ने बताए। प्रशासनिक ढिलासुस्ती र अनियमितता अन्त्य गरी प्रभावकारी शासन प्रणाली स्थापित गर्नुपर्नेमा पनि उनले जोड दिए।
विश्व परिवेशलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित कूटनीति अपनाउनुपर्ने उल्लेख गर्दै उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण, राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। विगतका अनुभवबाट पाठ सिक्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढ्न उनले आह्वान गरे।
संसद्ले जनताको चाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले समग्र राष्ट्र निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखे।
प्रकाशित: २७ चैत्र २०८२ १५:४६ शुक्रबार





