१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कोशीको प्रदेशसभा तरकारी बजारमा लैजाने तयारी

कोशी प्रदेशसभा सचिवालय राख्न मोरङको कटहरी गाउँपालिकास्थित तरकारीबजारको अनुगमन गर्दै मुख्यमन्त्रीलगायत ।

कोशी प्रदेशसभा सचिवालय कटहरी स्थित तरकारी बजारमा लैजाने तयारी गरिएको छ । कोशी प्रदेश सरकार मातहतको कटहरी स्थित आधुनिक तरकारी बजारमा प्रदेशसभा लैजाने तयारी गरिएको हो ।  

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगर देवकोटा चोक स्थित प्रदेशसभा बैठक बस्ने हल र सचिवालय भवन आन्दोलनकारीहरूले आगो लगाएर खण्डहर बनाएपछि विराटनगर नजिकै रहेको कटहरी स्थित तरकारी बजारमा प्रदेशसभा सार्न लागिएको हो ।  

कटहरी स्थित तरकारी बजारमा प्रदेशसभा सार्ने विषयमा मोटामोटी सहमति भइसकेको भए पनि औपचारिक निर्णय हुन बाँकी रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।  

भण्डारीका अनुसार यस अघि विराटनगर स्थित वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक राख्ने विषयमा छलफल भए पनि सभागृहमा प्रदेशसभा सचिवालय राख्न भवन नभएको र सभाहलको भाडा धेरै महंगो भएकाले प्रदेशसभा कटहरी गाउँपालिका स्थित तरकारी बजारमा लैजान लागिएको हो ।  

तरकारी बजार ।

कटहरीमा अत्याधुनिक तरकारीबजार सञ्चालनका लागि भन्दै करिब ७ वर्ष पहिले अत्याधुनिक पूर्वाधारसहितको बजार निर्माण गरिएको थियो । तरकारी बजारमा कार्यालय भवन, क्वाटर, खुद्रा तथा थोक तरकारी बिक्रि स्थलको निर्माण गरिएको थियो ।  

संघीय सरकार मातहतको उक्त तरकारी बजार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तर गरेका थिए । तर, प्रदेश सरकारले उक्त तरकारी बजार सञ्चालन गर्न नसकेपछि करिब १७ करोड रुपैयाँ लगातमा निर्माण गरिएको तरकारी बजार अलपत्र परेको थियो ।  

गत वर्ष प्रदेश सरकारले कटहरी गाउँपालिकालाई तरकारी बजार सञ्चालनका लागि उक्त पूर्वाधार दिएको थियो । तर, जेनजी आन्दोलन पछि प्रदेशसभा हल र सचिवालय दुवै जलेर खरानी भएपछि त्यहि तरकारी बजारको पूर्वाधारमा पदेशसभा सार्न लागिएको हो ।  

तरकारी बजारमा सचिवालयलगायतका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेको र झ्याल ढोका वरिपरिको पर्खाल लगाउँदा सभाहल पनि तत्कालै तयार गर्न सकिने अवस्था रहेकाले हालका लागि तरकारी बजार नै उपयुक्त देखिएको मन्त्री भण्डारीले बताए । उनले भने‘ हामीसँग धेर्रै विकल्प छैन ।  

थोरै लगानीमा तत्कालै प्रदेश सभा सचिवालय र प्रदेशसभा हल तरकारी बजारमा तयार गर्न सकिने भएकाले तरकारी बजारमा नै प्रदेशसभा लैजाने तयारी गरिएको हो ।’ यसअघि तत्कालिन जिल्ला विकास समितिको भवनमा प्रदशेसभा सचिवालय र त्यहि परिषरमा अस्थायी सभाहल निर्माण गरि प्रदेशसभा सञ्चालन हुँदै आएको थियो ।  

पुरानो भइसकेको सचिवालय भवन आगलागीका कारण प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ । यस्तै चार वर्ष अघि निर्माण गरिएको प्रदेशसभा बैठकको हल पनि आगलागीका कारण कामै नलाग्ने अवस्थामा पुगेको छ ।  

 

 

प्रकाशित: १३ कार्तिक २०८२ १८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App