२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गण्डकीका सबै मतदान केन्द्रमा तयारी पूरा

गण्डकीका सबै मतदान केन्द्रमा निर्वाचन तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय गण्डकीले गण्डकीका ११ वटै जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा निर्वाचनको तयारी पूरा भएको जनाएको हो।

गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। जसमध्ये ९ लाख १४ हजार ८ सय पुरुष, ९ लाख ५५ हजार २ सय ५१ महिला र १४ जना अन्य मतदाता रहेका छन्। जसका लागि १ हजार २ सय ९७ मतदान स्थलका २ हजार ३ सय ९६ मतदान केन्द्र राखिएको गण्डकीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए।

गण्डकीमा भारतसँग सिमाना जोडिएको नवलपुरको समथर भूमिमा रहेको विनय त्रिवेणी–२ स्थित जनजागृती आधारभुत विद्यालय र दीपेन्द्र मावि, सर्दीमा रहेको मतदान केन्द्रदेखि ४ हजार मिटर उचाईमा पर्ने मुस्ताङको नार्पाभुमिसम्म, कास्कीको सडक पहुँचले नभेटेको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोमरोङदेखि हिउँ काटेर बाटो बनाइएको मनाङको साङ्तासम्म मतदान केन्द्रहरु रहेका छन्। ती सबै मतदान केन्द्रहरुमा ५१ प्रकारका निर्वाचन सामग्रीहरु पुगिसकेको उनले जानकारी दिए।  

‘मतदान सामग्रीहरु मतदान केन्द्रहरुमा सोमबार साँझ नै मत पत्रसहितको मतदान सामग्री लिएर मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारीहरु पुगिसकेका छन,’उनले भने,‘त्यहाँ पुगेर मतदानका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि सर्वदलीय बैठक राखेर सहमति जुटाउनेसम्मका काम भइसकेका छन्।’

गण्डकीमा संवेदनशिलताका आधारमा सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर मतदान केन्द्रलाई विभाजन गरिएको छ। भौगोलिक जटिलता, सुरक्षा थ्रेट, विगतको अनुभवलगायतलाई आधार मानेर मतदान केन्द्रको वर्गिकरण गरिएको उनले जानकारी दिए। यस्तै, हरेक निर्वाचन केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरामा रहेर सुरक्षा दिने उनले बताए। ‘आवश्यक्ता अनुसार नै सुरक्षाकर्मी परिचालन गरिएका छन्, सामान्यतयाः तीन घेरामा रहेर सुरक्षा दिनेछन् तर घटनाक्रम अनुसार आवश्यक परेमा तीन घेराको मापदण्ड मिचेर नेपाली सेना वा सशस्त्र प्रहरीले पनि आवश्यक कारवाही गर्न सक्ने व्यवस्था गरिएको छ’, उनले भने ।

मुख्य निर्वाचन अधिकृत बेलवासेले सबै मतदान केन्द्रमा मतदान गराउनका लागि तयारी अवस्थामा रहेको बताए। उनले भने,‘अब मतदान शुरु गर्न मात्र बाँकी छ। सुरक्षाको पनि कुनै समस्या छैन, तीन वटै निकायका सुरक्षाकर्मी खटिइसकेका छन्’।

गण्डकीमा प्रतिनिधि सभाका लागि १८ निर्वाचन क्षेत्रमा २ सय ३४ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन सम्पन्न गर्न गण्डकीमा १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयम्सेवक खटिदैछन् ।

कास्कीमा बिहीबार साँझदेखि नै मतगणनाको तयारी

कास्कीमा बिहिबार साँझदेखि नै मत गणनाको तयारी गरिएको छ। कास्कीमा मतदान सकिएलगत्तै मत पेटिका संकलन गरेर साँझदेखि नै मत गणना गर्ने तयारी गरिएको हो। जसका लागि सर्वदलीय÷सर्वपक्षीय बैठकसमेत बसेर म्याण्डेट लिइसकिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए। उनले भने,‘सर्वपक्षीय÷सर्वदलीय बैठकमा बिहिबार साँझदेखि नै मत गणना गर्ने सहमति भएको छ। मतदान सकिएपछि छिटोछिटो मतपेटिका संकलन गर्ने र मत गणना गर्ने निर्णय भएको छ।’  

बिहिबारदेखि नै मत गणना हुने भएपछि मत गणना स्थलको निर्माण पनि तिव्र गतिमा भइरहेको उनले जानकारी दिए। मत गणना स्थलमा तारजाली लगाउनेदेखि सिसी क्यामरा जडान गर्ने, वत्ती, पानीलगायतको जोहो गर्नेसम्मको काम भइरहेको उनले बताए।

कास्कीमा रहेको ३ निर्वाचन क्षेत्रको फरक फरक ठाउँमा मत गणना गर्ने तयारी छ। कास्की–१ मा पोखरा महानगरपालिका वडा नम्बर–१२ को माटेपानीस्थित वडा कार्यालय, कास्की–२ मा निर्वाचन कार्यालय रहेको जलस्रोत सिंचाई केन्द्र पोखरा–१७ ड्यामसाईड र कास्की–३ को पनि निर्वाचन कार्यालय रहेको पोखरा–५ मालेपाटनस्थित कृषि मन्त्रालयमै मत गणना गरिने बेलवासेले जानकारी दिए।

प्रकाशित: २० फाल्गुन २०८२ १८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App