९ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता बढाउन कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको छ। पिपल इन निड (पिन) अन्तर्गत ‘प्रतिबद्ध–३’ को समापनसँगै ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको हो।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘प्रतिबद्ध–३ समापन तथा प्रतिबद्ध–४ शुभारम्भ कार्यक्रम’मा ‘प्रतिबद्ध–४’ परियोजना लागुबारे जानकारी दिइएको थियो। उक्त कार्यक्रममा पिन कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल इन निड, आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिल्ड्रेन इन्टरनेशनल र स्कट विल्सन नेपालको साझेदारीमा प्रतिबद्ध–४ परियोजना लागू भएको बताए।  

कार्यक्रममा प्रदेश संयोजक अधिकारीले रु ३० करोड ५७ लाख ९७ हजार ९६० बजेटमा सञ्चालित ‘प्रतिबद्ध–३’ परियोजनाका मुख्य कार्य, सिकाइ, चुनौती र अपेक्षाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । उनका अनुसार बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १० स्थानीय तहमा सन् २०२४–२०२६ जुनसम्म ‘प्रतिबद्ध–३’ को कार्यावधि सम्पन्न भएसँगै ‘प्रतिबद्ध–४’ लागू गरिएको छ।

परियोजनाका व्यवस्थापक शालिकराम घिमिरेले ‘प्रतिबद्ध–४’ को परिचय, प्राथमिकता क्षेत्र, उद्देश्य, योजना तथा साधन स्रोत, सङ्कट अनुकूलन कोष र कार्यान्वयनको ढाँचाबारे आफ्नो प्रस्तुति राख्दै सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको केदारस्यु र थलारा गाउँपालिका, कर्णाली प्रदेशको जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, लुम्बिनी प्रदेशको प्यूठानको सरुमारानी र माण्डवी गाउँपालिकामा उक्त परियोजना लागू भएको बताए। उनका अनुसार सो परियोजना सञ्चालनका लागि रु १५ करोड ८४ लाख ७२ हजार २५६ बजेट रहेको छ। 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव विपीन आचार्यले कर्णालीजस्तो उच्च जोखिम भएको भूगोलमा प्रतिबद्ध परियोजनाको निरन्तरताले विपद् पूर्वतयारी, प्रतिकार्य, राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने बताए। परियोजनालाई बढाएर लिन सकिए यहाँका नागरिकका लागि टेवा पुग्ने र विपद् जोखिम तथ्याङ्क अभिलेखीकरण पनि हुने उनको भनाइ थियो। 

प्रदेश सचिव लक्ष्मीकुमार विकले सामुदायिक विपद् व्यवस्थापन समितिलाई वडासँग जोडेर लैजान र बाढी, पहिरोजस्ता विपद्का सूचना एकैपटक लिन सकिने संयन्त्र निर्माण गरी अगाडि बढ्न सुझाए। शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले प्रतिबद्ध परियोजनाले बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका समुदायमा राम्रो प्रभाव परेको बताए। उनका अनुसार परियोजनामार्फत स्थानीयको क्षमता विकास र बायोइन्जिनियरिङका क्षेत्रमा पनि असल अभ्यास भएका छन्। 

पिपल इन निड (पिन) का देशीय निर्देशक सिमोन डी भिसेन्जले बाढी, पहिरो र भूकम्पको उच्च जोखिम भएका प्रदेशका जिल्लाका स्थानीय तहमा रहेर परियोजनाले काम गर्दै आइरहेको बताए। विपद् संवेदनशीलतालाई ध्यानमा राखेर कर्णालीजस्ता विकट भूगोलमा रहेका नागरिकलाई जोखिमबाट बचाउन, तत्काल अस्थायी आवासको व्यवस्थापन, विपद् सचेतना, समुदायको क्षमता अभिवृद्धि, बहुप्रकोप पूर्वतयारी र पूर्वकार्य सुदृढीकरणका लागि सामाजिक सहभागितामूलक पहलमा जोड दिइएको निर्देशक भिसेन्जले बताए। 

उक्त कार्यक्रममा परियोजनाले हालसम्म हासिल गरेका उपलब्धि, सिकाइ, चुनौती र प्रभावका बारेमा समीक्षा गर्दै असल अभ्यासहरूको पहिचान, दस्तावेजीकरण र त्यसको दिगोपन सुनिश्चितता गर्नु प्रमुख आवश्यकता रहेको औँल्याइएको थियो।   

प्रकाशित: ९ असार २०८३ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App