१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

संविधान मिचेर एकैचोटि चुनाव गरे देश राजनीतिक दुर्घटनामा जान सक्छ: प्रचण्ड

फाइल।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन्।

दुवै चुनाव एकैचोटि गर्दा संविधान मिचिने र देश फेरि राजनीतिक दुर्घटनामा जान सक्ने उनले चेतावनी दिए। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले संविधानअनुसार दुवै तहका सरकारले पाँच वर्ष पूरा अवधि चल्न पाउनुपर्ने बताए।

‘हामीले सँगै र छुट्टाछुट्टै भन्ने विषयलाई बहसको विषय बनाउनु हुँदैन। संविधान र कानुनले जे भनेको छ, त्यही हुनुपर्छ। पाँच वर्ष दुवै सरकारले पाउनुपर्‍यो,’ उनले भने, ‘त्यसो गर्दा प्रदेशसभाको अवधि मंसिर ५-७ गतेसम्म छ।

स्थानीय तहको अवधि जेठ ५ गतेसम्म छ। जेठ ५ गतेलाई आधार बनाएर स्थानीय तहको निर्वाचन वैशाख र मंसिर पहिलो हप्तालाई आधार बनाएर कात्तिकमा या मंसिरको पहिलो हप्तामा प्रदेशको चुनाव हुनुपर्‍यो।’

प्रचण्डले निर्वाचनमा हिजोको शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानसभाका पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ भन्ने आफ्नो स्पष्ट मत रहेको बताए।

‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानमाथि प्रहार भएको छ, त्यसको रक्षाको निम्ति एक ठाउँमा उभिनुपर्छ, सहकार्य गर्नुपर्छ। वामपन्थीहरूको बीचको सहकार्यलाई पनि हामीले प्राथमिकतामा राख्नुपर्छ भनेका छौं,’ उनले भने, ‘तर वामपन्थी मात्रै मिलेर पनि अहिलेको राष्ट्रिय संकटको समाधान हुँदैन। त्यसमा १२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै मिल्नुपर्छ। हामी सबैसँग संवादमा छौं।’

उनले प्रधानमन्त्रीको भारत भ्रमण सामान्य र नियमित मात्रै भएको टिप्पणीसमेत गरे।

प्रकाशित: १० मंसिर २०८३ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App