नेकपाका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारीको नाममा भएको ठगी प्रकरणमा हालका सभामुख तथा तत्कालीन श्रममन्त्री डीपी अर्यालमाथि छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन्।
रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले आफूनिकटका व्यक्तिलाई उन्मुक्ति दिएको जिकिर गरे।
‘त्यो बीचमा सात जना मन्त्री भएको देखिन्छ। तर, जसलाई फसाउन खोजियो, त्यसको नाममात्रै छानेर कारबाही गरेको देखिन्छ,’ उनले भने, ‘सुरु गर्ने मन्त्रीलाई पनि छानबिन गरिएको छैन, बीचका मन्त्रीहरूलाई पनि गरिएको छैन। आफ्नै पार्टीको तर्फबाट अहिले सभामुख हुनुभएका त्यो बेला मन्त्री हुनुहुन्थ्यो।’
सरकारले आफूसँग फरक मत राख्नेलाई मात्र छानेर कारबाही गर्न खोजेको उनको आरोप छ।
उनले थपे, ‘यो सुशासन होइन। यो निर्देशित छानबिन या निर्देशित ढंगले प्रतिशोध लिने रूपमा गइराखेको छ। निजी क्षेत्रमा पनि पुरानो पार्टीसँग या नेतासँग नजिक भयो भनेर कसैलाई तर्साइहाल्ने खालको काम गरिएको छ।’
प्रकाशित: १० मंसिर २०८३ १५:५७ बिहीबार





