मानव बेचबिखनविरुद्ध कार्यरत संस्था (आट्विन) को टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी महिला हिंसा र मानव बेचबिखनका मुद्दालाई आगामी निर्वाचनको घोषणापत्रमा समेट्न आग्रह गरेको छ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा टोलीले महिला तथा बालिकामाथि हुने हिंसा, मानव बेचबिखन, सुरक्षित आप्रवासन, पीडितको संरक्षण तथा न्याय सुनिश्चिततासम्बन्धी विषयमा स्पष्ट नीतिगत प्रतिबद्धताको माग गर्दै संयोजक प्रचण्डलाई लिखित सुझावपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले संविधानमा सुनिश्चित भएका प्रतिनिधित्व र समावेशीकरणसहितका अधिकारहरू आफूहरूकै नेतृत्वमा भएको संघर्षको प्रतिफल भएको बताए।
उनले कागजमा लेखिएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि पार्टीले अझ सशक्त रूपमा संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए।
महिला अधिकार, समानता र सामाजिक न्याय आफ्नो पार्टीको मूल एजेण्डा रहेको उल्लेख गर्दै उनले आट्विनले उठाएका विषयहरूलाई पार्टीको नीति, कार्यक्रम तथा घोषणापत्रमा प्राथमिकताका साथ समेट्ने विश्वास दिलाए।
प्रकाशित: १३ माघ २०८२ १६:१२ मंगलबार





