१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

व्यवहारमा चुक्यौँ भन्दै प्रचण्डले गरे आत्मालोचना: भन्छन्-परिवर्तनको आवाज नसुन्दा यत्रो क्षति भयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू व्यवहारमा चुकेको बताउँदै आत्मालोचना गरेका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै प्रचण्डले विचार र नीति सही भए पनि व्यवहारमा चुकेको बताए ।  

उनले जारी गरेको सन्देशमा भनेका छन्, ‘आज संविधान दिवसको अवसरमा म स्वीकार गर्छु, कि हामीबाट पनि कमजोरी भए । हामीले गलत विचार र नीति लिएका होइनौं तर व्यवहारमा हामी कतै न कतै चुक्यौं । वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो भयो । शहीद परिवार, वेपत्ता परिवार, घाइते, अपांग र यातनापीडित साथीहरुका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अलमलियौं । एक्लै सरकारको नेतृत्व गर्न हाम्रो कहिल्यै संख्या पुगेन ।’

उनले जेन-जी आन्दोलनमा उठेको विषय माओवादी विद्रोहमा पनि उठेको बताउँदै समय र परिवर्तनको आवाज सुन्न ढिलाइ हुँदा राज्यले ठूलो क्षति व्यहोर्नुपरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘पछिल्ला घटनाक्रम हेर्दा कता कता यस्तो लाग्छ, हाम्रा फरक मतहरु त्यतिबेलै स्वीकार गरिन्थ्यो र त्यसको सफल कार्यान्वयन हुन्थ्यो भने आज युवाहरुले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुन सक्थ्यो । परम्परागत दलहरुले परिवर्तनको आवाज सुन्न ढिला गर्दा दस वर्ष लामो जनयुद्धमा ठूलो क्षति भयो र अहिले जेन-जी विद्रोहमा पनि देशले ठूलो मूल्य चुकाउन पर्यो ।’

प्रकाशित: २ आश्विन २०८२ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App