नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति क्रमशः आकर्षक बन्दै जानु सकारात्मक पक्ष भए पनि यस यात्रामा चुनौतीहरू कम नरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै नेता भण्डारीले सत्ता र प्रेम दुवै शक्तिशाली तत्व भएको उल्लेख गरेका छन्। तर कुन समयमा यी तत्वहरू द्वन्द्वमा परिणत हुन्छन् भन्ने कुरा सहजै अनुमान गर्न नसकिने उनको भनाइ छ।
'राजनीति आकर्षक बन्दै जानु सकारात्मक पक्ष हो, तर यो यात्रामा चुनौतीहरू कम छैनन्। सत्ता र प्रेम दुवै शक्तिशाली तत्व हुन्; तर कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ, थाहै हुँदैन,' उनले लेखेका छन्।
उनले सत्ताबाट जन्मिने लोभ र मोहले ‘म’ भावनालाई जन्माउने, त्यसबाट अहंकार उत्पन्न हुने र अन्ततः अहंकारले आन्तरिक द्वन्द्व सिर्जना गर्ने स्पष्ट पारेका छन्। यस्तो शृंखलाले राजनीति र नेतृत्वलाई कमजोर बनाउने खतरा रहने उनको टिप्पणी छ।
यस सम्पूर्ण अवस्थाको समाधान भने नेतृत्वको इच्छाशक्तिमा निहीत इमान्दारितामै रहेको नेता भण्डारीको धारणा छ। इमान्दारितालाई नै द्वन्द्व व्यवस्थापनको ‘डाक्टर’का रूपमा लिन सकिने उल्लेख गर्दै उनले यो आफ्नै अनुभवबाट आएको निष्कर्ष भएको बताएका छन्।
उनले भने, 'सत्ताबाट जन्मिने लोभ र मोहले “म”लाई जन्माउँछ, “म”बाट अहंकार उत्पन्न हुन्छ, र अहंकारले अन्ततः आन्तरिक द्वन्द्व सिर्जना गर्छ। यस सम्पूर्ण शृंखलाको औषधि भनेकै नेतृत्वको इच्छाशक्तिमा निहीत इमान्दारिता हो। यही इमान्दारितालाई द्वन्द्व व्यवस्थापनको ‘डाक्टर’ भन्न सकिन्छ। यो मेरो अनुभव हो।'
प्रकाशित: १५ पुस २०८२ ०८:३० मंगलबार





