संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरूले पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन सुझाव दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य, रसुवा हिमबाढी एवं समग्र विपद् व्यवस्थापनका सन्दर्भमा राजनीतिक दलहरूसँग आयोजना गरेको अन्तर्क्रियामा नेताहरूले विपद् जोखिम न्यून गर्न जागरण अभियान तथा स्वयंसेवकीय भूमिका निर्वाह गर्न आफ्ना पार्टीहरू तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले विपद्पश्चात नागरिकले सरकार छ भन्ने भरोसा खोज्ने भएकोले प्रतिकार्यलाई गम्भीरतापूर्वक लिएर तयारी गर्न सुझाव दिए। आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बलियो बनाउँदै जानुपर्नेमा पनि जोड दिए।
नेकपा (एमाले) को विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले रसुवा बाढीमा सरकार, प्राधिकरण र सुरक्षा निकायले राम्रो प्रतिकार्य गरेको उल्लेख गर्दै उद्धार जनशक्तिलाई तालिम एवं खोज तथा उद्धार सामग्रीको व्यवस्था गर्नुपर्ने बताए।
नेकपा (माओवादी केन्द्र) को विपद् व्यवस्थापन विभागका प्रमुख सूर्य सुवेदी 'पथिक' ले राजनीतिक पार्टीलाई विपद् व्यवस्थापनमा संलग्न गराउन सरकार र प्राधिकरणले पर्याप्त पहल गर्नुपर्ने बताउँदै प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय मातहत राखी साधनस्रोत र अधिकार सम्पन्न गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापिड एक्सन टिमका प्रमुख साजन शर्मा 'प्रदीप' ले विपद् पूर्वतयारी तथा व्यवस्थापनलाई नियमित तालिकाका रूपमा नलिन सुझाव दिँदै सूचना प्रवाहलाई तीव्र बनाउन र आवश्यक सामग्रीको भण्डारका लागि राज्यले लगानी बढाउनुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले विपद्मा जनताले राज्यको अभिभावकत्व खोज्ने भएकोले पूर्वतयारी महत्वपूर्ण भएको उल्लेख गरे।
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रमान श्रेष्ठले सबै नागरिकले विपद्मा जोगिने तालिम लिने वातावरण बनाउन सुझाव दिँदै विद्यालाय तथा विश्वविद्यालयका पाठ्यक्रममा नेपालमा हुने विपदबाट जोगिने उपाय सम्बन्धी विषयहरू राख्नुपर्ने बताए।
जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता एवं मधेश प्रदेशसभाका सदस्य मनिषकुमार सुमनले मधेशमा सुक्खाका कारण अकालको अवस्था सिर्जना हुने खतरा बढेको उल्लेख गर्दै विपद्मा जनताले आफ्ना आफन्त र छिमेकीपछि राजनीतिक नेता-कार्यकर्तालाई खोज्ने गरेको अनुभव राखे।
नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रसुवा बाढीमा बर्दियाका पाँच युवा बेपत्ता भएको जानकारी दिँदै सीमा क्षेत्रमा बनेका बाँधका कारण तराईमा डुबान हुने भएकोले समयमै बाँधहरु खोल्न प्राधिकरणले पहल गर्नुपर्ने बताए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विपद् व्यवस्थापनमा राज्यको विशेष जिम्मेवारी हुने भएकोले नीतिगत अवरोध फुकाउनका लागि सहयोग गर्न तत्पर रहेको आश्वासन दिए।
कार्यक्रममा धारणा राख्ने सबै नेताले जोखिम हस्तान्तरणका लागि बिमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने प्राधिकरणको धारणामा समर्थन गर्दै बिमा दिगो समाधानको उपाय भएको बताएका थिए।
छलफल कार्यक्रमका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख इ. दिनेश भट्टले मनसुन प्रतिकार्य प्राधिकरणको अहिलेको मुख्य प्राथमिकता रहेको जानकारी गराउँदै विपद्पश्चातको पुनर्निर्माण, नीतिगत तथा संरचनागत सुधार, पूर्वसूचना प्रणालीको विश्वसनीयता बृद्धि, विपद्को मूलप्रवाहीकरण, स्वयंसेवकको तालिमलगायतमा काम गरिरहेको बताए।
सहसचिव अर्जुनकुमार बमले रसुवा हिम-बाढीलगायत मनसुन सुरु भएपछिका मुख्य प्रतिकार्यहरू, विपद्पश्चातको पुनर्निर्माण एवं नीतिगत तथा संरचनागत सुधारमा राजनीतिक दलहरूबाट प्राधिकरणले गरेको अपेक्षालगायतका विषयमा प्रस्तुतीकरण गरे।
सहसचिव रोशनीकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राजनीतिक दलका नेताहरूलाई छलफलमा स्वागत गरेका थिए।
प्रकाशित: १ श्रावण २०८२ १८:४७ बिहीबार





