नेकपा (एमाले) ले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले पूर्वपदाधिकारी तथा पार्टी, सरकार र संसद्मा लामो अनुभव सँगालेका नेताहरूलाई समेट्दै स्थायी कमिटी विस्तारको निर्णय गरेको हो।
सचिवालयको सिफारिसलाई जारी केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा अनुमोदन गर्नेछ।
स्थायी कमिटीमा मनोनीतका लागि प्रस्तावित नेताहरूमा पोखरेलसँगै पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेत्री डा. शिवमाया तुम्बाहाम्फे, पूर्वमन्त्री लालबाबु पण्डित र नेता काशीनाथ अधिकारीसहित सात जना छन्।
पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा पोखरेलले अध्यक्ष पदका लागि ओलीसँग चुनावी प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा ओलीसँग पराजित भएपछि पोखरेल पार्टीको सक्रिय नेतृत्व संरचनामा फरक भूमिकामा रहँदै आएका थिए।
स्थायी कमिटीमा सिफारिस गरिएका अर्का नेता देवराज घिमिरे पूर्वसभामुख हुन्। उनी लामो समयदेखि ओलीनिकट प्रभावशाली नेताका रूपमा पार्टी, सरकार र संसद्को महत्त्वपूर्ण जिम्मेवारीमा रहँदै आएका छन्।
त्यस्तै, पार्टीको नीति र संगठनमा प्रभाव राख्ने पूर्वउपमहासचिव प्रदीप ज्ञवाली तथा अनुभवी नेताहरू शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र काशीनाथ अधिकारीलाई पनि शीर्ष संरचनामा फर्काइएको छ।
सचिवालयको यो निर्णय केन्द्रीय कमिटीबाट पारित भएसँगै प्रस्तावित नेताहरूले स्थायी कमिटीमा औपचारिक जिम्मेवारी पाउनेछन्।
प्रकाशित: ८ आश्विन २०८३ १६:१० बिहीबार


-600x400.jpg)


