८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

दोभान बजारको भीषण आगलागी नियन्त्रणमा: १० घर जले, १७ परिवार विस्थापित

तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागी नियन्त्रणमा आएको छ।

आगलागीबाट ८ जना घरधनीका १० वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १७ घरपरिवार विस्थापित भएका छन्।

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङका अनुसार दिउँसो १:३६ बजे सुरु भएको आगो सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहीबार अपराह्न नियन्त्रणमा लिइएको हो।

आगलागीका कारण घरधनी ८ र डेरा गरी बस्ने ९ गरी कुल १७ परिवार विस्थापित भएका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बस्तीमा फैलिएको आगो अन्यत्र सल्कन नदिन र जोगाउने प्रयास गर्दा केही घरहरू पूर्ण र केही आंशिक रूपमा भत्काउनुपरेको जानकारी दिए।

आगलागीबाट लाक्पाचुङ शेर्पा (डण्डु) र भीम लङ्वाका दुई-दुईवटा घर जलेका छन्। त्यस्तै चन्द्रप्रसाद पौडेल, याम आङवुहाङ, घनश्याम खरेल, राजु शेर्पा र राजेन्द्र पौडेलका एक-एक वटा घर जलेर नष्ट भएको रेडक्रसले जनाएको छ।

आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोभान, सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजंघाका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा परिचालित भएका थिए।

‘हाई कमाण्ड‘ को सक्रियताले जोगियो थप क्षति

देशभर लगातार भइरहेको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा ‘हाई कमाण्ड पोष्ट’ लाई तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम ताप्लेजुङका सुरक्षा निकायका प्रमुखहरू प्रजिअ उमेशकुमार दाहालको कार्यकक्षमै बसेर विपद् व्यवस्थापनको सूचना संकलन र विश्लेषण गरिरहेका थिए।

शुक्रबारसम्मको बिदा स्वीकृत गराएर काठमाडौं पुगेका प्रजिअ दाहाल गृह मन्त्रालयको निर्देशनलगतै बिदा छोट्याएर बुधबार राति नै ताप्लेजुङ फर्किएका थिए।

सुरक्षा अधिकारीहरू एकै ठाउँमा जुटेर रणनीति बनाइरहेकै बेला दोभानमा आगलागीको खबर प्राप्त हुनासाथ तत्कालै दमकल र सम्पूर्ण सुरक्षा टोली घटनास्थलतर्फ परिचालन गर्न सहज भएको प्रजिअ दाहालले बताए।

आगलागी नियन्त्रणमा आएलगत्तै पीडितहरूको वास्तविक अवस्था बुझ्न तथा राहत र उद्धार कार्यलाई तीव्रता दिन प्रजिअ दाहालको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली दोभान बजार पुगेको छ।

तमोर नदी र मैवाखोलाको संगमस्थलमा रहेको दोभान बजार ताप्लेजुङकै बाक्लो र दोस्रो ठूलो बजार हो। यहाँ एकाध बाहेक प्रायः सबै घरहरू काठ र जस्तापाताले बनेका छन्।

यस बजारमा २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी हुँदा करिब ४० वटा घर जलेर खरानी भएका थिए। तमोर र मैवाखोलाको कटान जोखिम झेलिरहेको यस बजारमा निरन्तर झरी परिरहेकै समयमा फेरि आगलागीको ठूलो विपद् आइपरेको हो।

प्रकाशित: ८ आश्विन २०८३ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App