२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओलीलाई टक्कर दिँदै पोखरेल: को–को छन् खुलेका सारथि?

नेकपा एमालेको यसै मंसिरमा अन्तिम साता हुन लागेको ११ औँ महाधिवेशनको रस्साकस्सी सुरु भइसकेको छ। शनिबार मात्रै देशभरबाट एमालेका महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन्। मंसिर २७, २८ र २९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने कार्यक्रम छ।  

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट फेरि अध्यक्षमा दोहोरिने तयारी गरिरहेका छन्। उनी अध्यक्ष चुनिए उनको यो तेस्रो कार्यकाल हुने छ। आफूलाई तेहरिन रोक्ने विधानको व्यवस्था भदौमा सम्पन्न विधान महाधिवेशनबाट उनले हटाइसकेका छन्। विधानमा यसअघि दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने र ७० वर्षे उमेर हदको व्यवस्था थियो। जुन ओलीकै लागि विशेष महाधिवेशनले संशोधन गरेर हटाइएको हो। 

आठौँ महाधिवेशनदेखि अध्यक्ष हुन कोसिसमा रहेका ओली पहिलो प्रयासमा झलनाथ खनालसँग पराजित भएका थिए। नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई हराउँदै उनी अध्यक्ष चुनिएका थिए। 

त्यसपछिका राजनीतिक घटनाक्रमले एमालेभित्र उनलाई ‘ओली नै एमाले र एमाले नै ओली’ जस्तो शक्तिशाली अवस्थामा पु¥याएको छ। गाउँदेखि केन्द्रसम्मको एमालेको ठुलो पङ्ति अहिले पनि ओलीको नेतृत्वबिनाको एमाले कल्पना गर्न सक्ने अवस्थामा छैन। 

यही परिवेशमा २०७८ मा चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा ओलीलाई भीम रावलले टक्कर दिएका थिए। रावल फराकिलो मतान्तरले हारे। हारेको मात्र नभई उनले लगातार ओलीविरुद्ध फरक मत राखिरहे। सोही कारण उनलाई साधारण सदस्यसमेत नरहने गरी एमालेबाट कारबाही गरिएको थियो। 

११ औँ महाधिवेशन सम्मुख आइपुग्दा यस पटक ओलीलाई आफ्नै पुराना सारथि ईश्वर पोखरेलले चुनौती दिँदै छन्। पोखरेल एमालेको वरिष्ठ उपाध्यक्ष छन्।  यसअघि पोखरेलले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमाले सदस्यता दिलाएर ओलीविरुद्ध मैदानमा उतार्न चाहन्थे। तर, ओलीकै इशारामा एमालेले पूर्व राष्ट्रपति भण्डारीले गरेको सदस्यता नवीकरण रद्द गरिदियो। जसले उनको एमालेको नेतृत्व लिने सपना तुसारापात भएको छ। 

ओलीको विकल्पमा पूर्व राष्ट्रपति भण्डारीलाई सार्ने प्रयास असफल भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल आफै मैदानमा उत्रिँदै छन्। पोखरेललाई ‘ब्याक अप’मा पूर्व राष्ट्रपति भण्डारीको आड छ। सोही कारण पोखरेलका लागि सबैभन्दा शक्तिशाली सारथि उनै भण्डारी बनेकी छन्।

पोखरेलको चुनावी रणनीति निर्माणका लागि पूर्व राष्ट्रपति भण्डारीकै थापागाउँस्थित सम्पर्क कार्यालय प्रयोग भइरहेको पनि स्रोत बताउँछ। जहाँ पोखरेललाई खुलेर सहयोग गर्न लागेका नेताहरूको बैठकदेखि जमघट हुन्छ। 

पोखरेललाई भण्डारीबाहेक उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीको पनि साथ छ।  यस्तै सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट पनि पोखरेलकै पक्षमा खुलेर सहयोग गरिरहेका छन्। 

प्रकाशित: १५ मंसिर २०८२ १९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App