पोखरा महानगरपालिकाले असोज १ गतेदेखि पुनः सेवा थाल्ने भएको छ । पोखरा महानगरपालिकाको हालै बसेको भर्चुअल कार्यपालिका बैठकले जेन-जी आन्दोलनले कार्यालयमा पुगेको क्षेतिले स्थगित सेवा असोज १ गतेदेखि सञ्चालन गरिने भएको छ ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते पोखरा महानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
महानगरको ५२ औं कार्यपालिका बैठकले क्षति नपुगेका कार्यालयबाट सेवा दिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले जानकारी दिए । त्यस्तै, क्षति पुगेको संरचनाको यकीन विवरण संकलन गर्ने पनि निर्णय भएको उनले बताए । उनले भने,‘उचित ठाउँको व्यवस्थापन गरि सेवा दिने निर्णय भएको छ ।’
निर्णय अनुसार महानगरपालिकाले सेवा दिने ठाउँको पनि पहिचान गरेको छ । जस अनुसार हालको दमकल भवनमा महानगर प्रमुख र उपप्रमुखलगायतको कार्यकक्ष बनाईने छ । त्यस्तै, सोहि ठाउँमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष राखिनेछ भने सार्वजनिक लेखा समिति, कानून शाखा, सरसफाई शाखा र दमकल सेवा कक्ष पनि सोहि ठाउँमा राखिनेछ ।
यसैगरी, महानगरले सार्वजनिक कार्यक्रम गर्ने थलो पोखरा सभागृहमा पनि प्रशासन महाशाखा राखेर सेवा दिने भएको छ । जहाँ राजश्व महाशाखा र शहरी विकास महाशाखा (व्यापार प्रवद्र्दन कक्ष)मा रहनेछ । भण्डार शाखा, तथ्याङ्क शाखा, विपद/उजुरी फछ्र्यौट शाखा, अभिलेखीकरण शाखा, पञ्जीकरण शाखा, लेखा शाखा र महानगर प्रहरी बल पनि राखिनेछ ।
यसैगरी, शिक्षा विकास महाशाखालाई यथास्थानमै राखिने भएको छ भने पूर्वाधार विकास महाशाखामा योजना शाखा, आन्तरिक लेखा परीक्षण शाखा र खरिद शाखा राखेर सेवा दिईने भएको छ । महानगरले आर्थिक विकास महाशाखालाई यथास्थानमा राखेको छ भने सो स्थानमा सहकारी शाखा, श्रम तथा रोजगार शाखा (सामी कार्यक्रमसमेत) र व्यवसाय प्रवद्र्दन केन्द्र राखेर सेवा दिने प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । महानगरले संवैधानिक व्यवस्थाले असन्तुष्टि प्रकट गर्ने अधिकार सुनिश्चित गरेको भए पनि सार्वजनिक सम्पत्ति जलाउने र कर्मचारीलाई आतङ्कित गर्ने कार्य अपराध भएको जनाएको छ ।
दोषीहरूको पहिचान गरी कानुनी कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ । तोडफोड र आगजनीको मौका पारेर महानगरपालिका, वडा कार्यालय लगायत मातहतका कार्यालयबाट कोही कसैले सामग्री लगेको भए इमानदारपूर्वक फिर्ता गर्न पनि महानगरले अपिल गरेको छ ।
जेन-जी आन्दोलनका क्रममा आगलागी हुँदा महानगरपालिकाको कार्यालय जल्दा भौतिक संरचनामा क्षति पुगेको छ भने कागजातहरु जलेर नष्ट भएका छन् । त्यस्तै, महानगरपालिकाका ३३ वटा वडामध्ये २७ वटा वडामा आन्दोलनकारीले आगो लगाएका थिए । जसमध्ये २० वटा वडा कार्यालयमा पूर्ण क्षति पुगेको छ ७ वटामा आंशिक क्षति पुगेको प्रवक्ता तिमिल्नाले जानकारी दिए । उनका अनुसार बाँकी ६ वटा वडा भने ग्रामिण क्षेत्रमा भएकाले तोडफोड तथा आगजनी भएका छैनन् ।
प्रकाशित: २९ भाद्र २०८२ १७:४५ आइतबार





