पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उत्तमप्रसाद पौडेललाई कानुन र विधि अनुसार अघि बढेको सुकुम्बासी व्यवस्थापन प्रक्रियामा अवरोध नपुर्याउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत मेयर आचार्यले सांसद् पौडेललाई ‘स्थानीय सरकार सञ्चालन ऐन’ राम्रोसँग अध्ययन गर्न सुझाव दिएका छन्। महानगरले कानुन हातमा नलिएको स्पष्ट पार्दै उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्न प्रक्रियागत रूपमा काम भइरहेको बताएका हुन्।
मेयर आचार्यले पोखरा महानगरपालिकाले देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा पहिले २० हजार १ सय ६ परिवार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकेको बताएका छन्।
‘कोही वास्तविक सुकुम्बासी हो वा होइन भन्ने पहिचान र प्रमाणीकरण गर्ने जिम्मेवारी सम्बन्धित वडा कार्यालय र कानुनी निकायको हो,’ मेयर आचार्यले लेखेका छन्, ‘लालपुर्जा वितरणको पनि स्पष्ट कानुनी प्रक्रिया र विधि छ, जसलाई हामी क्रमिक रूपमा कार्यान्वयन गरिरहेका छौँ।’
महानगरले पहिलो चरणमा पोखरा बसपार्क तथा फिर्के क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अगाडि बढेको जनाएको छ। आधा शताब्दीदेखि रोकिएको पोखरा बसपार्क निर्माणलाई निष्कर्षमा पुर्याउनु महानगरको प्रमुख जिम्मेवारी रहेको आचार्यको भनाइ छ।
यदि जथाभावी डोजर चलाउने महानगरको मनसाय भएको भए त्यो धेरैअघि नै भइसक्ने भन्दै उनले सुकुम्बासी बस्तीमा गएर जनतालाई भ्रमित वा उत्तेजित पार्ने अभिव्यक्ति नदिन सांसद् पौडेललाई अनुरोध गरेका छन्।
प्रकाशित: १२ श्रावण २०८३ १६:१२ मंगलबार





