प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन नै एक सरकारी कार्यालयमा छड्के गर्न गएको पाइएको छ। त्यस कार्यालयमा बेन पुग्दा ५५ कर्मचारीमध्ये १४ जना अनुपस्थित थिए। अनुपस्थितमध्ये एक जना कार्यालय प्रमुख नै थिए। गत साउन १९ गते बिहान ९ बजेपछि सेवाग्राहीका रूपमा बेन ललितपुरको लगनखेलस्थित मालपोत कार्यालयमा छड्के/अनुगमन गर्न पुगेका थिए। बेनको निवास त्यहाँबाट नजिकै छ।
बेन त्यस कार्यालयमा केहीबेर बसे। उनी त्यहाँ बस्दासम्म कार्यालय प्रमुख छवि नेपालीसहित १४ कर्मचारी कोही आएनन्। अनुगमनका क्रममा उनी कार्यालय प्रमुखको कार्यकक्षसहित विभिन्न कोठामा पुगेका थिए तर धेरैजसो कोठा खाली थिए। उनले कोठा खाली भएको भिडियोसमेत बनाए। १२ सेकेन्डको भिडियो उनले तत्काल भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई पठाए। त्यो भिडियोमा सेवाग्राही कार्यालय पुगेको तर कर्मचारी कम भेटिएको प्रस्ट देखिन्छ।
छड्केका क्रममा बेनले आफ्नो परिचय खुलाएनन् र एक छिनपछि त्यहाँबाट हिँडे।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेन अनुगमनमा आएका बेला आफू कार्यालय जानेक्रममा बाटोमै रहेको कार्यालय प्रमुख नेपालीले बताए। ‘म लगनखेलमा आइसकेको थिएँ। केही बेरमै कार्यालयमा पुगेको थिएँ। म कार्यालयमा समयमै पुग्ने गरेको छु,’ उनले भने।
आफ्नो कार्यालयमा सेवा प्रवाह नियमित रहेको र नरोकिएको दाबी उनले गरे। ‘हामीले सेवा प्रवाहमा कुनै कमी हुन दिएका छैनौं। सेवा प्रवाहलाई अझ प्रभावकारी बनाएका छौं। सेवाग्राहीलाई दुःख दिएका छैनौं।’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेन अनुगमन गर्न कार्यालय पुगेका दिन १४ कर्मचारी बिदामा रहेको उनले सुनाए।
भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार बेनले भिडियो पठाएपछि मन्त्रालयले तत्कालै उक्त भिडियो राष्ट्रिय सतर्कता केन्द्रमा पठायो र कार्यालयमा अनुपस्थित कर्मचराीलाई कारबाही गर्न अनुरोध गर्यो। मन्त्रालयको अनुरोधपछि सतर्कताले कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। आफूसहित अनुपस्थिति भएका कर्मचारीलाई सतर्कताले स्पष्टीकरण सोधेको नेपालीले स्वीकार गरे।
सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा केन्द्रका कर्मचारीले एक हजार ५७७ कार्यालयमा गई अनुगमन, छड्के तथा निगरानी गरेका थिए। त्यसक्रममा नौ हजार ६९७ कर्मचारीले कार्यालय समय पालना गरेको पाइएन।
यसैगरी तोकिएको पोसाक नलगाउने एक हजार ४०४ जना देखिए। सतर्कताले उक्त आवमा ११ हजार १०१ कर्मचारीलाई कारबाही गर्न सम्बन्धित निकायमा लेखिपठाइएको छ। ‘हामीले गरेको छड्के अनुगमनका क्रममा काठमाडौंका दुई/तीन हजार कर्मचारी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमा बसेको वा सेवा दिएको पाइएन,’ ती अधिकारीले भने, ‘बिहानै हाजिरी गर्ने र घर हिँड्ने गरेको देखियो। केही त बिहान आएपछि एकैपटक साँझ ५ बजे पुगी हाजिरी गर्ने गरेको पाइयो।’
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार केन्द्रले विभिन्न टोली परिचालन गरी दिनहुँ छड्के अनुगमन गरिरहेको छ।
प्रकाशित: ४ भाद्र २०८३ ०७:१० बिहीबार





