ताप्लेजुङका सञ्चारकर्मीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा आफू पनि प्रतिबद्ध रहने र सरोकारवाला पक्षलाई पनि पालनाका लागि प्रतिबद्ध बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेका छन्।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको समन्वयमा नेपाल पत्रकार महासंघ ताप्लेजुङले बुधबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। कार्यक्रममा निर्वाचन आचारसंहिता, यसको सन्दर्भ र पालनाका आधारबारे महासंघ ताप्लेजुङका सहसचिव साहारा लङ्वा र मनु मावो लिम्बूले प्रस्तुति दिएका थिए।
आचारसंहिता स्वनियमनको विषय भएको उल्लेख गर्दै उनीहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालनामा कसको के भूमिका हुन सक्छ भन्ने विषय स्पष्ट पारे।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न दुईदिने प्रशिक्षक–प्रशिक्षण तालिममा सहभागी लङ्वा र लिम्बूले तालिमबाट हासिल गरेका सीप र अनुभव स्थानीय सञ्चारकर्मीसँग साझा गरेका थिए।
कार्यक्रममा महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष खगेन्द्र अधिकारीले सञ्चारकर्मीले आफूले पालना गर्नुपर्ने आचारसंहिताप्रति पूर्ण प्रतिबद्ध रहनुका साथै निर्वाचनका सरोकारवाला पक्षलाई पनि आचारसंहिता पालनामा खबरदारी गर्ने दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने बताए। सञ्चारमाध्यमले मतदातालाई उम्मेदवार इंगित गरेर भोट दिन आग्रह गर्नुको सट्टा स्थानीय आवश्यकता र मागका विषय उजागर गर्नु उपयुक्त हुने उनले धारणा राखे।
पूर्वअध्यक्ष आनन्द गौतमले पत्रकारिता क्षेत्रमा विगत र वर्तमानबीच उल्लेख्य परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको सही प्रयोग र व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण रहेको बताए। आचारसंहिता आफैंलाई स्वनियमनमा राख्ने विधि भएकाले यस अवधिमा सबै सरोकारवाला सचेत, संवेदनशील र पालनाप्रति प्रतिबद्ध हुनुपर्ने उनले जोड दिए।
कार्यक्रमको समापन गर्दै महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले आचारसंहिता पालनामा सञ्चारकर्मी प्रतिबद्ध रहेको र आचारसंहिता लागू अवधिभर यसको प्रभावकारी कार्यान्वयनमा सक्रिय रहने विश्वास व्यक्त गरे। उनले निर्वाचनपूर्व अवधि, मतदानको दिन, मतगणना र परिणाम सार्वजनिक नहुन्जेलसम्म सबै पक्षले आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने बताए।
प्रकाशित: १३ फाल्गुन २०८२ १७:४२ बुधबार





