फुङलिङ नगरपालिकाले अब आफ्नै लोगो बनाउने भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार लोगो डिजाइन गरी यही मंसिर २९ गते भित्र कार्यालयमा पेश गरिसक्नुपर्ने छ । छनौट भएको लोगोलाई पालिकाले ५० हजार रुपैयाँ प्रदान गर्ने समेत पौडेलले बताएका छन् ।
पौडेलका अनुसार लोगोमा नगरपालिकाको नाम, भौगोलिक नक्सा, राष्ट्रिय झण्डा र स्थापना मितिलाई अनिवार्य समावेश गर्नुपर्ने छ । लोगोमा मौलिक र सृजनात्मकतालाई प्राथमिकता दिनुपर्ने, लोगो रंगिन हुनुपर्ने, लोगोमा प्रयोग भएका संकेतहरुको संक्षिप्त व्याख्यासहित पेश गर्नुपर्ने समेत नगरपालिकाले जनाएको छ ।
लोगोमा कुनैपनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमसत्ता र राष्ट्रियतालाई खलल् पार्ने कुनैपनि संकेत वा चिन्ह प्रयोग गर्न नपाइने भएको छ । लोगो निर्माणकर्ता नेपाली नागरिक हुनुपर्ने, मूल्याङ्कन समितिले प्राप्त लोगोको मस्यौदा परिमार्जन वा संशोधन गर्न आग्रह गरे त्यसलाई स्वीकार गर्नुपर्ने सर्त समेत नगरपालिकाले अघि सारेको छ ।
वीकार गरिएको लोगोको सर्वाधिकार नगरपालिकामा रहने र निर्माणकर्ताले त्यसलाई अन्यत्र प्रयोग गर्न नपाइने नियम समेत नगरपालिकाले बनाएको छ । फुङलिङ नगरपालिकाको नारा ‘यातायात सञ्जाल, व्यवसायिक कृषि, पर्यटन र पूर्वाधार, शिक्षा स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’ भन्ने रहेको छ ।
प्रकाशित: ५ मंसिर २०८२ १६:४० शुक्रबार





