राजनीतिक विश्लेषक सुबोधराज प्याकुरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छुचो बोलीकै कारण २०४६ पछिका सम्पूर्ण कमजोरीको दोष थाप्लामा परेको टिप्पणी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा बोल्दै प्याकुरेलले यस्तो बताएका हुन्।
‘उनी प्रधानमन्त्री भएको त धेरै भएको छैन। तर मैले यसो हेर्छु–२०४६ यताका सम्पूर्ण कमजोरीको दोषी केपी ओली भए,’ उनले भने, ‘किन भए भन्दा उनको छुचो बोली, कसैलाई मान्छे नै नगन्ने।’
त्यही कारण जनता ओलीप्रति निकै आक्रोशित भएको प्याकुरेलले दाबी गरे। ‘मान्छे यति आक्रोशित भएका थिए कि २४ गतेको जुलुस थियो त्यसमा एमालेका, कांग्रेसका, माओवादीका, रास्वपाका, राप्रपाका संसार थियो त्यहाँ। सर्वसाधारण पनि थिए। ती सम्पूर्णको मुखमा केपी ओली विरुद्धको नारा थियो,’ उनले भने।
यसबाट ओली राजनीतिज्ञ नै नभएको पुष्टि भएको पनि उनले बताए। उनले भने, ‘यसबाट हामीले के बुझ्नुपर्छ भने यी राजनीतिज्ञ होइनन्, यी वरपर मान्छे राखेर बोलेका भरमा नेता बनेका हुन्।’
प्रकाशित: २२ आश्विन २०८२ १९:३० बुधबार





