२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जनावर र मानव बस्ती व्यवस्थापन गर्न उम्मेदवार राठोरलाई जनताको सुझाव

बर्दियाको क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरलाई स्थानीय जनताले जनावर र मानव बस्ती व्यवस्थापन गर्न सुझाव दिएका छन्।

बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जंगली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढ्दै गएपछि मध्यवर्ती क्षेत्रसहित बाँके र बर्दियाका धेरै क्षेत्रका मानिसले असुरक्षा महसुस गरेका छन्। पछिल्लो दिनमा मानव र जनावरबीचको द्वन्द्व थप बढ्दै जाँदा यो विषय अहिले सबैभन्दा पेचिलो बन्दै गएको छ।  

नेपाली कांग्रेसका स्थापित तथा प्रभावशाली नेता निर्वाचनमा आफ्नो क्षेत्रबाट उम्मेदवार भएकाले उनलाई आफूहरूको पिरमर्का सुनाएको र सम्बोधन हुने विश्वास पनि लिएको ठाकुरबाबा नगरपालिका ३ का कमानसिंह साउद बताउँछन्। स्थानीय कौशिला टमटा विगतमा बर्दियामा विकासका थुप्रै कामको अगुवाइ गरेका नेता राठोरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या, सडक, पुलपुलेसालगायत समस्या समाधान गर्ने विश्वास दिएको बताउँछिन्।  

नेता राठोरले स्थानीय जनतासँग भेटघाट गर्नुका साथै ई–सुझाव संकलन गरिरहेका छन्। जसमा जनावर र मानव बस्ती व्यवस्थापनसहितका धेरै विषयका सुझावहरू आएको ठाकुराबाबा नगरपालिकाका मेयरसमेत सरहेका स्थानीय कांग्रेस नेता तिलक लम्सालले बताए।  

कांग्रेस नेता राठोर २०७९ को निर्वाचनमा बाँकेको क्षेत्र नम्बर–३ बाट उम्मेदवार थिए। उनी उक्त निर्वाचनमा २९ हजार ४० मतसहित विजयी भएका थिए। निकट प्रतिस्पर्धी एमालेका तत्कालीन जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत ल्याएका थिए।

प्रकाशित: १८ माघ २०८२ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App