३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

राज्यका निकायमा रहने व्यक्तिले राष्ट्रलाई प्राथमिकता दिएर काम गर्नुपर्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिच शक्ति सन्तुलन भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन्।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीले पूर्वप्रशासक थापाको १०३औं जन्मजयन्तीको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा नेता डा. कोइरालाले राज्यका प्रमुख अंगबीच शक्ति सन्तुलन नभए प्रजातन्त्रमाथि चुनौती उत्पन्न हुन सक्ने धारणा राखेका हुन्।

नेता डा. कोइरालाले भने, ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन र संघर्षमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णय निष्पक्ष र तटस्थ हुनुपर्छ, राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिको छनोट होइन, राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’

पूर्ववडाहाकिम थापा असहज परिस्थितिमा पनि शान्त र शालीन प्रशासकका रूपमा आफूलाई स्थापित गरेको बताउँदै नेता डा. कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हाबी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुस्किल रहेको विचार प्रकट गरे।

श्रम तथा रोजगारमन्त्री शरत्सिंह भण्डारीले मुलुकमा लोकतन्त्र स्थापना र समाजसेवाका लागि ठुलो त्याग तथा तपस्या रहेकै कारण पूर्वप्रशासक थापा मृत्युपर्यन्त पनि सबैले स्मरण गरिरहने पात्रका रूपमा रहेको बताए।

वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षमा योगदान पुर्‍याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

गुठीका अध्यक्ष प्रा. डा. सुरेशराज शर्माको अध्यक्षतामा भएको उक्त जन्मजयन्ती कार्यक्रममा साहित्यकार हरिमञ्जुश्री, ‘बद्री विक्रम राष्ट्र गौरव’ र ‘सेवा पुरस्कार नेपाल’ बाट पुरस्कृत संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ र समाजसेवी तथा चित्रकलाकार उर्मिला गर्गले विधागत विशिष्टता र पूर्वसभामुख दमनाथ ढुंगानाको व्यक्तित्वबारे जानकारी गराए।

यसअघि प्रा. डा. सुरेशराज चालिसे, संस्थाका कोषाध्यक्ष किरण थापा, आध्यात्मिक व्यक्तित्व चिन्तामणि योगीले कर्मयोगी थापा र पूर्वसभामुख दमननाथ ढुंगानाबाट नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको योगदानको चर्चा गर्दै गुठीले समाजसेवामा पुर्‍याउँदै आएको योगदानबारे जानकारी दिए। रासस

प्रकाशित: ११ श्रावण २०८२ २०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App