९ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

शान्ति सम्भव छ !

‘अनिकालमा बिउ जोगाउनु, युद्धमा युवा जोगाउनु’

२५ वर्षदेखि शान्तिको अभियानमा नागरिक आवाज

देशमा माओवादी द्वन्द्वले चरम रूप लिएको समय थियो। हत्या, बेपत्ता, बलात्कारजस्ता जघन्य अपराध बढिरहेका थिए। मर्ने–मार्ने र घरबाट विस्थापित हुनेको संख्या गन्नै नसकिने अवस्थामा पुगेको थियो। मानिस–मानिसबीचको मानवीय संवेदना हराउँदै गएको थियो भने दुवै पक्षबाट युद्धका नियम उल्लंघन हुने क्रम डरलाग्दो बन्दै गएको थियो।

२०५८ सालतिर काठमाडौंसहित देशका मुख्य सहर र विभिन्न जिल्ला सदरमुकाम विस्थापितले भरिएका थिए। गाउँहरू रित्तिँदै गएका थिए, जहाँ अबोध बालबालिका, महिला र वृद्धवृद्धा मात्र बाँकी थिए। यही बेला काठमाडौंकी एक रैथाने महिलालाई देशको अवस्थाले दिनरात पिरोल्न थाल्यो।

आर्थिक रूपमा सक्षम ती महिलाले ‘अनिकालमा बिउ जोगाउनु, युद्धमा युवा जोगाउनु’ भन्ने नारासहित अभियान सुरु गरिन्। द्वन्द्वपीडित युवालाई सुरक्षित राख्ने धेरै उपायमध्ये उनले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइन्। काठमाडौंका गल्लीहरूमा द्वन्द्वपीडितका लागि निःशुल्क सामूहिक शान्ति भान्सा अर्थात् निःशुल्क मेससमेत सञ्चालन गरिन्।

आफ्नो साथीभाइको साथ लिएर आफ्नै घरको एउटा कोठामा सम्पर्क कार्यालय बनाई अभियान थालेकी अभियन्ता रिता थापा ले २०५९ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गरी नागरिक आवाज नामक संस्था स्थापना गरिन्।

द्वन्द्व रूपान्तरण र शान्ति स्थापनालाई लक्ष्य बनाएर मानसिक स्वास्थ्यमा केन्द्रित नागरिक आवाजको अभियान पछिल्लो समय जिम्मेवारीमा परिणत भएको छ। ‘शान्ति सम्भव छ’ भन्ने विश्वाससहित आम नागरिकसँग सामीप्यता बढाउँदै रिता थापाको नेतृत्वमा त्यसयता सयौं सामूहिक कार्य सम्पन्न भएका छन्।

२५ वर्षे द्वन्द्व रूपान्तरण यात्रामा दर्जनौं परियोजना र सयौं अभियान सञ्चालन गरेको नागरिक आवाजले सन् २००३ देखि २०२० सम्म विस्थापित र जोखिममा परेका समुदायका लागि राजधानीका विभिन्न चोकमा सामुदायिक शान्ति भान्सासँगै निःशुल्क मनोविमर्श सेवा सञ्चालन गरेको थियो। यो सेवा अहिले पनि निरन्तर जारी रहेको संस्थाले जनाएको छ।

युद्ध, भूकम्प, कोभिड महामारी वा देशमा आउने ठूला विपद्का समयमा रिता थापा अर्थात् नागरिक आवाजको उपस्थिति प्रायः सुनिश्चित हुने गरेको छ। विपद्का बेला निःशुल्क सामूहिक भान्सादेखि निःशुल्क मनोसामाजिक सेवा संस्थाको प्राथमिकतामा पर्ने गरेको छ।

२०७२ सालको भूकम्प, कोभिड महामारी, जाजरकोट र बझाङका भूकम्पका समयमा पनि संस्थाले निःशुल्क सामूहिक शान्ति भान्सा सञ्चालन गरेको थियो। त्यस्तै माओवादी द्वन्द्वकालका पीडितसँग मानसिक स्वास्थ्यका सवालमा निरन्तर काम गरिरहेको छ।

‘यो दौरानमा हामीले सयौं मानिसको जीवन बचाएका छौं,’ नागरिक आवाजमा २५ वर्षदेखि सेवा गरिरहेकी कार्यालय प्रमुख डा. सुसन रिसाल ले भनिन्, ‘द्वन्द्वले मानसिक रूपमा विच्छिप्त बनाएकाहरूका लागि हामी निरन्तर मानसिक स्वास्थ्यमा काम गरिरहेका छौं।’

नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, सेहरीस्थित पद्मालयमा संस्थाले रजत जयन्ती मनाएको छ। कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित द्वन्द्वविज्ञ डा. विष्णु उप्रेती ले संक्रमणकालीन न्याय टुंगोमा नपुग्नु दुःखद भएको बताए।

‘द्वन्द्वमा सहभागी दलहरूले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सकेनन्, अब नयाँ सरकारले यो काम सकाउनुपर्छ,’ उनले भने, ‘यदि यो मुद्दा समाधान गर्न सकिएन भने भोलि अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्नेछ।’

पद्मालयमा साझेदार संस्थाका प्रमुख, अभियन्ता लगायतको सहभागितामा दुई दिनसम्म प्यानल छलफलसहित उत्सव मनाइएको थियो।

‘राज्यको साझेदारका रूपमा हामीले २५ वर्षे यात्रा पूरा गरेका छौं,’ द्वन्द्व विषयमा विद्यावारिधि गरेकी डा. सुसन रिसालले भनिन्, ‘हामी आफ्ना गतिविधिप्रति गर्व गर्छौं।’

देशका सातै प्रदेशका दुई दर्जनभन्दा बढी जिल्लामा क्रियाशील नागरिक आवाज ललितपुरले विशेषगरी द्वन्द्वपीडित महिलाको मानसिक स्वास्थ्यमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ९ वैशाख २०८३ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App